
सन्तोष थापा
पर्वत, ३१ चैत
निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बैशाख ३१ गते जुनसुकै हालतमा निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभएको छ । विहिबार अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पर्वत आउनुभएका पौडेलले आगामी बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने दावी गर्नुभयो ।
आयुक्त पौडेलले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै पर्वतबासीलाई विश्वास समेत दिलाउनुभएको थियो ‘बैशाख ३१ गते महायज्ञ हुँदैछ, जुठो सुत्केरो पर्दै पर्दैन ढुक्क हुनुस्’ उहाँले भन्नुभयो ‘पवित्र कार्यका रुपमा हुन गइरहेको निर्वाचन कुनै हालतमा रोकिदैन’ उहाँले निर्वाचन भयरहित र मर्यादित बनाउन सवैले सदाचारिता कायम गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
अर्को प्रसंगमा आयुक्त पौडेलले निर्वाचनमा सुरक्षाको प्रत्याभूति गराउन तराईमा सेना पठाउन सकिने धारणा ब्यक्त गर्नुभएको छ । जनतामा सुरक्षाको अनुभूति दिलाउन सेना पठाउन सकिने बताउनुभएको हो । तराईमा चुनाब बिथोल्न खोजेमा सेनालाई हवाई र स्थल गस्ती गराउन सकिने उहाँको धारणा थियो ।
निर्वाचन आयोग कुनै पनि दललाई प्रतिबन्ध लगाएर चुनाबको परिकल्पना गर्न नसक्ने बताउँदै निर्वाचन सम्बन्धी कानुन संशोधन नभएसम्म अन्य दललाई चुनाब चिन्ह दिन नसकिने पौडेलले स्पष्ट पार्नुभयो । आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले आयोगले आन्तरिक तयारी र बाह्य सहयोग लिने काम भैरहेको बताउँदै सबै तयारी गर्न आयोग सक्षम रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले निर्वाचनका लागि जिल्लाको सुरक्षा योजना र अन्य सबै काम भैरहेको जानकारी गराउनुभएको थिजयो । कार्यक्रमा राजनैतिक दलका प्रतिनिधी र सञ्चारकर्मीले जिज्ञासा राखेका थिए भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जिल्लामा भएका गतिबिधी बारे जानकारी गराउनुभएको थियो ।










