
दिल शिरीष
बागलुङ, ३० चैत
धौलागिरी अञ्चल सदरमुकाम रहेको बागलुङका चार नगरपालिकामा पाँच दर्जनभन्दा बढी मेयरका आकांक्षी देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिँकिँदै जाँदा बागलुङ, गलकोट, बुर्तिबाङ र जैमिनीघाट नगरपालिकामा मेयरका दर्जनौँ आकांक्षी देखिएका छन् । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा राजधानी, अञ्चल र जिल्ला कमिटीमा रहेका नेता अहिले नगर प्रमुखको दाबी प्रस्तुत गर्दै पार्टीका केन्द्रीय र प्रदेशका नेतासँगको ुलबिङु र कार्यकर्तालाई आफ्नो पक्षमा जनमत तयार गर्न सक्रिय छन् । विभिन्न सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी दाबी एवं समर्थन गर्ने क्रम बढेको छ ।
संविधानसभाको चुनावमा तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको कांग्रेसभित्र मेयर र उपमेयर बन्नेको संख्या अन्य दलको तुलनामा बढी छ । यसअघिको स्थानीय निकायको निर्वाचनमा एमालेले जितेको बागलुङ नगरपालिकामा यो निर्वाचनमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बागलुङ नगरपालिकामा कांग्रेसबाट पार्टी जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, निवर्तमान जिल्ला उपसभापति जगदीशचन्द्र उपाध्याय, युवा नेता किरण पौडेल, कांग्रेस जिल्ला सदस्य वसन्तकुमार श्रेष्ठ, नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्मा, कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, क्षेत्र नं २ का नारायण शर्मा पौडेल, नगर सभापति महेन्द्र आचार्य, महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्यलगायतले मेयरको दाबी गर्नुभएको छ । एमाले र राजमोबीच तालमेलको सम्भावना देखिएकाले पनि सबैभन्दा बलियो उम्मेदवार छान्नुपर्ने कांग्रेसलाई दबाब छ ।
बागलुङ नगरपालिकामा एमालेबाट पूर्व जिल्ला अध्यक्ष जनक पौडेल, वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनकुमारी केसी, पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, कृष्ण पाठकको चर्चा छ । माओवादी केन्द्रबाट नगर इन्चार्ज निर्मल श्रेष्ठ, यज्ञबल्लभ शर्मा, कुमारविक्रम क्षेत्री मेयरको उम्मेदवार हुने सम्भावना छ । माओवादी पनि बाम या कांग्रेससँगको चुनावी तालमेलको सम्भावनालाई पर्ख र हेरको रणनीतिमा छ।राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा, लोकनाथ शर्मा, थानेश्वर सुवेदी र राप्रपाबाट जिल्ला अध्यक्ष तथा पूर्वजिविस सभापति सुरेन्द्र खड्काको चर्चा छ । एमाले र राजमोबीच तालमेल भए बास्कोटा उपमेयर लड्ने सम्भावना छ ।
अहिले नयाँ स्थापना भएको जैमिनी नगरपालिकामा मेयरका लागि कांग्रेसबाट जिल्ला सचिव नवराज पौडेल, पूर्वमहासमिति सदस्य इन्द्रराज पौडेल, नेविसंघका केन्द्रीय सहमहामन्त्री हरिहर शर्मा, कांग्रेसका पूर्वजिल्ला सचिव ओमकार थापा, युवा नेता भीम श्रीश, हरि आचार्य, दुर्गादत्त आचार्य, गीता रेग्मी, काशीराम आचार्यलगायतले दाबी गर्नुभएको छन् । एमालेबाट पूर्वजिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, भूपाल चालिसे र सावित्रा रानामध्ये एक उम्मेदवार बन्ने एमाले कार्यकर्ताको भनाइ छ । माओवादीबाट लालबहादुर परियार, सकसबहादुर क्षेत्री, शोभा शर्मा र राजमोबाट नरबहादुर पुनको चर्चा छ।
गल्कोट नगरपालिकामा कांग्रेसबाट पूर्वसभासद नरबहादुर पुन निरज, मञ्जु शर्मा चालिसे, फमबहादुर खत्री, मञ्जेशबम मल्ल, देवेन्द्र खत्री, मुकुन्द भण्डारी, एमालेबाट बुलबहादुर केसी, डम्बर श्रीश, माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज फमलाल निउरे, ज्ञामनाथ गैरे ुअनिलु, तिलक उप्रेती, राजबहादुर थापा, राजमोबाट नेत्रबहादुर बुढाथोकीलगायतको चर्चा छ ।ढोरपाटन नगरपालिकामा कांग्रेसबाट मेषलाल शर्मा, धीरप्रताप सिंह, अर्जुन शेरचन, एमालेबाट लक्ष्मण पुन, गोकुल शेरचन, टंक पौडेल, माओवादी केन्द्रबाट चन्द्र अर्याल, शेरमान घर्ती, तुलसी अर्याल, राजमोबाट टेकबहादुर घर्ती, गौरीश्वर पाण्डेयको चर्चा छ ।
जिल्लाका सबै नगरपालिका र गाउँपालिमा वैशाख ७ गतेभित्र उम्मेदवारको टुंगो लगाउने तयारी भइरहको कांग्रेस बागलुङका सचिव नवराज पौडेलले बताउनुभयो । अन्य राजनीतिक दलबीच पनि चुनावी तालमेल गर्नेबारे छलफल भएको उहाँको भनाइ छ । ुकांग्रेस मुख्य प्रतिस्पर्धी शक्ति भएकाले त्यसबाहेक अन्य दलसंग तालमेल गर्ने तयारीमा छौुं, एमाले जिल्ला सचिव लालबहादुर थापाले भन्नुभयो ।
अन्नपूर्ण पोस्ट्बाट साभार










