
बागलुङ, १६ चैत
चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको चैत्राष्टमी कप अन्तर कलेज स्तरीय फुटबलमा धौलागिरी बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।
बागलुङको बाङ्गेचौर खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङलाई ट्राईबेकरमा पराजित गर्दै क्याम्पसले विजयी हात पारेको हो ।
निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुननसकेपछि खेल सिधै ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा क्याम्पसले प्रतिष्ठानलाई ४ का विरुद्ध १ गोलअन्तरले पराजित गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले स्वस्थ्य जिवनका लागि खेल अति आवश्यक भएकाले खेल क्षत्रको बिकासका लागि गुठीले संचालन गरेको अभियान सकरात्मक भएको बताउनुभएको थियो ।

जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले खेल मानविय मस्तिस्कसंग सम्वन्धीत भएकाले खेलको सहि सदुपयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रममा चैत्राष्टमी पर्व र समग्र कार्यक्रमको वारेमा गुठीका अध्यक्ष राजु खड्काले जानकारी गराउनुभयो ।
उद्घाटन कार्यक्रम कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षता फ्युचर ब्राइटर स्पोट क्लवका अध्यक्ष एवँ फ्युचर ब्राइटर बोडिङका प्रिन्सीपल बालकृष्ण शर्माको स्वागत र पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
बिहीबार बिहान ८ बजे बिद्यामन्दिर माविका बिरुद्ध आदर्श बिद्या मन्दिर, दिउँसो २ बजे मुलपानी मावि र न्यु ओयसिस तथा दिउँसो ४ बजे अमृत आदर्श र सनराइज बोडिङ स्कुलका बिच हुने प्रतियोगिताका संयोजक फडिन्द्र खड्काले जानकारी दिनुभयो ।
१२ टिमको सहभागिता रहेको अन्तर कलेज फुटबलको विजेताले ४० हजार र उपविजेताले २० हजार प्राप्त गर्ने छन् । कालिका भगवती गुठीको आयोजना, फ्युचर ब्राइटर स्पोट क्लब र बागलुङ खेलकुद क्लवको संयोजनमा प्रतियोगिता शुरु भएको हो ।










