
बागलुङ, १३ चैत
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर छिटो टुंगो लगाउनुपर्ने बताउनु भएको छ । संविधान संशोधन गर्नैपर्छ भन्ने मधेस केन्द्रित दलको अडान र संशोधन गर्नै हुँदैन भन्ने एमालेको अडानका कारण देशले दुर्भाग्य भोग्नुपरेको भन्दै उहाँले अब मतदानको प्रक्रियामा लैजानु नै उत्तम हुने बताउनु भयो ।
प्रेस सेन्टर नेपाल बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता गुरुङले भने, ‘राष्ट्रलाई गति दिनको लागि दलहरुका फरक मतलाई प्रक्रियामा लगेर समाधान गर्नुपर्छ ।’
माओवादी केन्द्र प्रदेश नम्बर ४ का इञ्चार्जसमेत रहेका गुरुङले संविधान संशोधन प्रस्तावलाई संसदमा पेश गर्नै नदिने एमालेको अडान गलत रहेको बताउनु भयो ।
गुरुङले संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई समानान्तर रुपमा अगाडि बढाउने बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरु पनि सहभागि हुने आशा व्यक्त गर्नुभयो ।
सहमतिको लागि दलहरुबीच निरन्तर छलफल भइरहेको बताउँदै गुरुङले भन्नुभयो, ‘अझै पनि समय छ, अन्तिम समयसम्म मधेसवादी दलहरु पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुनेछन् ।’








