
मुस्ताङ, ५ चैत
संघीय संरचना अनुसार प्रदेश नं. ४ अन्तर्गतको हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र परिवर्तन गरेको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन् ।
स्थानियले शनिवार विहानैदेखि लेते भएर आवत जावत गर्ने यातायात बन्द गराएका छन् ।
सरकारले राजपत्रमा प्रकाशित गरेको स्थानीय तह पुर्नसंरचनामा जिल्लामा सर्वदलीय सहमति अनुसार आयोगमा सिफारिस गरि पठाएको गाउँपालिकाको केन्द्र फेरबदल गरिए पछी लेतेका वासिन्दा बिरोधमा उत्रिएका हुन् ।
थासाङ गाउँपालिकाको केन्द्र लेतेलाई सिफारिस गरी पठाए पनि राजपत्रमा लेते केन्द्र हुनुपर्नेमा साविक कोवाङ गाविसको कार्यालयलाई केन्द्र तोकिएकाले आफुहरुलाई मान्य नहुने लेते गाविसका पूर्व गाविस अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो । गाउँपालिकाको केन्द्र कोवाङ भन्दा लेते उपयुक्त हुने भन्दै स्थानियले पुर्व निर्णयमा पुर्नविचार गर्न माग गरेका छन् । माग सुनुवाई नभए सम्म विरोधका कार्यक्रम गर्दै जाने उनीहरुको भनाई छ ।
स्थानीयले लेते केन्द्र गाउँपालिकाका लागि तोकिएको मापदण्द पुरा भएको तथा कुञ्जोको पैरोथाप्ला तथा टुकुचेको मध्ये भागमा रहेकाले सबै जनतालाई पायक पर्ने र इलाका स्तरका कार्यालय भएको र थप कार्यालय संचालनका लागि समेत प्रशस्त जग्गा भएको भन्दै वाणीज्य मन्त्री रोमी गौचन थकाली, सांसद श्रीमाया थकाली, सांसद महेन्द्र शेरचन, जिल्ला स्थित राजनैतिक दलका प्रमुख, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यलाई पहल गरिदिन आग्रह गरेका छन् ।










