बागलुङ, ६ माघ
बागलुङको बाङ्गेचौर खेलमैदानमा जारी बागलुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिष्णुपादुका युवा क्लब हेम्जा कास्की र फ्युचर ब्राइटर स्पोर्टस् क्लब बागलुङ (रातो) भिड्ने भएका छन् ।
बिष्णुपादुका कास्कीले बिहिवार भएको सेमिफाइनलमा ब्राइट फ्युचर स्पोर्टस् क्लब (पहेलो)लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । फाइनल खेल शुक्रवार मध्यान्ह १२ बजे हुने आयोजक दलित युवा सञ्जाल बागलुङले जनाएको छ ।
बिष्णुपादुकाले खेलको शुरुवाति ५ मिनेटमै अजित गुरुङको आकर्षक गोल मार्फत शुरुवाती अग्रता लिएको थियो । खेल सुरुवात देखि निकै दबावमा परेको फ्युचर पहिलो हाफ पछि पनि लयमा फर्कन सकेन । दोस्रो हाफ पछि कास्कीका विष्णु गुरुङ र विनोद गुरुङले क्रमशः ७० र ७५ औं मिनेटमा थप दुई गोल गर्दै जित सुनिश्चित गरेका थिए । फ्युचरका लागि खेलको एक मात्र सान्त्वना गोल ७७ औं मिनेटमा सुशान श्रेष्ठले गरेका थिए ।
दोस्रो सेमिफाइनल खेलमा फ्युचर स्पोर्टस् क्लब (रातो)ले अमर आदर्श स्पोर्ट क्लबलाई पाखा लगाउदै फाईनल प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा फ्युचर (रातो) का सवि गुरुङले ७७ औँ मिनेटमा आकर्षक गोल गर्दै जित निश्चित गरेका थिए ।
शुक्रवार हुने फाइनल खेल राष्ट्रिय खेलाडी तथा राष्ट्रिय फुटबल क्लबमा आवद्ध व्यवसायिक खेलाडीहरु सम्मिलित टोली बिच हुने भएकाले निकै रोमाञ्चक हुने सञ्जालका प्रेस संयोजक रामकृष्ण बोहराले जानकारी दिनुभयो ।
फाइनल पुगेको फ्युचर स्पोर्ट क्लबमा राष्ट्रिय टोलीबाट खेल्दै आएका हेमन गुरुङ, अण्डर नाइन्टिनका गौरव बुढाथोकी, रितेश मल्ल, जितेश बुढाथोकी तथा संकटा क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका अफ्रिकन खेलाडी बुका वाला रहेका छन् भने बिष्णुपादुका कास्कीको टोलीमा सहारा क्लब पोखराबाट खेल्दै आएका बिश्व गुरुङ, अशोक नेपाली, ऋषि सापकोटा, आकाश नगरकोटी लगायत रहेका छन् ।
गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १ हजार, हाइ स्कोर १ हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई १÷१ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।










