सस्मितका चार मुक्तक

शिब सस्मित
१
फुल्छ कमलको फूल जहाँ हिलो हुन्छ,
हो अगतिलैको बीचमा गतिलो हुन्छ ।
समयका मौरी फकाएर खोज्नुपर्छ मह,
अनि बल्ल जीवन यो स्वादिलो हुन्छ ।।

२
आज नौलो यात्री जस्तै ‘घुमघाम’ बन्छ मान्छे,
भोलि साख्खै भाइ जस्तै धुमधाम बन्छ मान्छे ।
आफ्नै हो भन्दै तन मन धन लुटेपछि सबै,
पर्सि भेष बदल्छ हराउँछ गुमनाम बन्छ मान्छे ।।

३
भोको छु प्रेमको लौ न गास चाहियो मलाई,
नाङ्गो छु सहाराको कपास चाहियो मलाई ।
कति बस्नु दरिद्र भइ तिम्रो दिलको सहरमा,
राजिनामै माग्छु बरु बास चाहियो मलाई ।।

४
लपक्कै लाली पाउडर धस्छु पो भन्छिन्,
लौ म त झिटीगुन्टा कस्छु पो भन्छिन् ।
तिमी खाडीमा क्यार्दै छौ हँ साँल्दाइ ?
भाउजु त सहर गइ बस्छु पो भन्छिन् ।।
बेनपा-८, बाँसबोट, म्याग्दी

1 टिप्पणी

  1. २ नम्बर रोजाइ मा पर्यो ।

Comments are closed.