कुन रङ्ग तिम्रो?

रशिक राज

ए चित्रकार!
तिम्रो चित्रमा छ
कुन कुन रङ्ग ?

ए लेखक!
तिम्रो रचनामा छ
कुन कुन शब्द ?

आउ देखाउ मलाई
गरेर बिभाजन
कुन तिम्रो जातको रङ्ग?
कुन मेरो जातको रङग?
कुन तिम्रो जातको अक्षर?
कुन मेरो जातको अक्षर?

म मान्दछु
सृस्टीकर्ताको न जात हुन्छ
न त धर्म नै।

नभए
निचारौँ तिम्री आमाका स्तन मेरी आमाका स्तन
हेरौँ तिम्री आमाले र मेरी आमाले खुवाएको दुधको रङ्ग र भिन्नता ।
राखिएका छन्
आमाका दुध
हेरेर,चाखेर वा
प्रयोगशालामा लगेर
खै कसरी गछौ!
लौ
छुट्याएर देखाउ
कुन कुन जातको भनेर।

हेर ति विर्य
सक्छौ भने
पहिल्याउ कुन तिम्रो पिताको भनेर
वा कुन धर्मको भनेर।

सक्दैनौ भने
बन्द गर जातिय,धार्मिक बिभाजनको बिज्ञापन

नेपालगन्ज २४ बाँके