
कृष्ण कँडेल
बागलुङ, २९ कात्तिक
जिल्लाको बुर्तिबाङ गाविसमा सर्वदलिय बैठकले बाढि पहिरोबाट घर पुर्ण रुपमा क्षेती भएका र अन्यत्र घर नभएका नागरिकले नेपाल सरकारले उपलब्ध गराउने थप १५ हजार राहात रकम उपलब्ध गराउन वडा नागरिक मञ्चबाट सिफारिस लिने निर्णय भएको छ । सरकारले बाढि पहिरोबाट बस्दै आएको घर पुर्ण रुपमा क्षेती भएका र अन्यत्र अर्को घर नभएका नागरिकलाई १५ हजार थप राहत रकम उपलब्ध गराउँदै छ । यस अघि जिल्ला विकास समितिबाट ५ हजार र जिल्ला प्रसाशन कार्यालयबाट १० हजार रकम पाएका थिए । गाविसका ६ घरधुरी अतिप्रभावित मध्ये उनिहरुको घर भए नभएको बारेमा वडा नागरिक मञ्चसँग बुझेर छनोट गरि जिल्लामा पठाउने निर्णय भएको हो ।
आईतवार नै बुर्तिबाङ गाविसमा एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापाको उपस्थितिमा भएको सर्वदलिय वैठकले लक्ष्मी कुण्डघाट मर्मतका लागि गुञ्जबहादुर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । यस अघि कात्तिक ८ गते भएको बुर्तिबाङ नगरविकास समितिको वैठकले एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापाको संयोजकत्वमा घाट मर्मत सहयोग तथा आर्थिक व्यवस्थापन समिति गठन गरेको थियो । थापाले घाट मर्मतका लागि प्रसासनको तर्फबाट सहयोग समन्वय गर्ने काम भएपनि आफै संयोजक भएर काम गर्न नमिल्ने तथा कार्य व्यस्तताका कारण नभ्याउने भन्दै नयाँ विकल्प खोज्नुपर्ने धारणा राखेपछि अर्को समिति गठन गरिएको हो ।
गत साउनको बढि पहिरोले बगाएपछि अवरुद्ध बनेको घाट मर्मतका लागि जिल्ला विकास समिति र जिल्ला जलउत्पन्न प्रकोप डिभिजन कार्यालयबाट ५०/५० थान ग्याविन जाली ल्याएर मर्मतको काम थालिएको छ । मर्मतका लागि दिवा निर्माण सेवाले ४० हजार दिएपनि थप १ लाख ४१ हजार आबश्यक पर्ने भएकाले नपुग रकम जुटाउन पनि नवगठित उपभोक्ता समितिले श्रोत जुटाएर काम गर्ने भएको छ ।










