गजल: प्रहार लक्ष्यमा

आवाज शर्मा

प्रहार लक्ष्यमा चुक्यो र खेर गइसकेपछि
निशर्त तीर फर्कियो, छुटेर गइसकेपछि

नझर्नु भूल भइदियो, सजायँ भोग्छ फूलले
फरक सुवासका थुँगा उनेर गइसकेपछि

डसाइ लाख बिच्छुको हरेक प्रश्नप्रश्नमा
सवाल गर्दछन् उही, बुझेर गइसकेपछि

हुनेछ मृत्यु त्यस घडी किनारको किनारमैँ
नदी रहन्न जब नदी सुकेर गइसकेपछि

दिएर जिन्दगीभरि, अक्षम्य सम्झनाहरू
छ बाँकि के र फर्कियौ लुटेर गइसकेपछि

कास्की, नेपाल