म्याग्दीमा धार्मिक तथा शैक्षिक महोत्सव सुरु

म्याग्दी, २५ कात्तिक
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमखी क्याम्पसमा बिहीबारदेखि धार्मिक तथा शैक्षिक महोत्सव सुरु भएको छ । म्याग्दीमा धार्मिक तथा शैक्षिक महोत्सव सुरु
‘विकासका लागि पुँजी, प्रविधि र शिक्षाबीचको एकता, स्नातकोत्तर एवं प्राविधिक शिक्षा म्याग्दीको आवश्यकता’ भन्ने नारासहित महोत्सव आयोजना गरिएको हो । आउँदो मंसिर २ गतेसम्म सञ्चालन हुने साप्ताहिक श्रीमद्भागवत् धनधान्याञ्चल ज्ञान महायज्ञ एवं म्याग्दी बेनी धार्मिक तथा शैक्षिक महोत्सवको विशेष समारोहबीच उद्घाटन गरिएको छ ।
म्याग्दीबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु नवराज शर्मा, निवर्तमान पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुन र रेशमबहादुर बानियाँले संयुक्तरुपमा महायज्ञको उद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन गर्दै सांसदत्रयले क्याम्पसको दिगो विकास विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
उहाँहरुले जिल्लाको शैक्षिक क्षेत्रमा अभिभावकको भूमिका खेल्दै आएको क्याम्पसको विकासमा आफुहरुले सम्बन्धित ठाउँबाट आवश्यक पहल गर्ने बताउँदै आगामी दिनमा क्याम्पसलाई उच्च शिक्षाको अग्रणी संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।