गुल्मीमा प्रहरी र स्थानीयबिच झडप

गुल्मी, २४ कात्तिक
गुल्मीको रिडी बजार क्षेत्रमा प्रहरी र स्थानीयबासिन्दा बिच झडप भएको छ । रुरु गाउँपालिकाको केन्द्र रिडीमा हुनुपर्ने माग राख्दै रुरुगाउँपालिका संघर्ष समितिले आयोजना गरेकोे आन्दोलनमा प्रहरी र स्थानीयबासिन्दा बिच बुधबार झडप भएको हो ।
झडपमा स्थानीय दीपक कडेल घाइते हुनुभएको छ । बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेर स्थानीयले आन्दोलन गरेपछि सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गर्दा स्थानीय र प्रहरीबिच झडप भएको हो ।
झडपको क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थानीय आक्रोसित हुँदै रिडी बजारमा रहेको अस्थाई प्रहरी विट समेत तोडफोड गरिदिएका छन् । दोहोर झडपको क्रममा ढुंगामुढा समेत प्रहार गरिएको थियो । स्थानीयले सडक खुलाउनका लागि छलफल भइरहेको अवस्थामा प्रहरीले जबरजस्ती सडक खुलाउन खोज्दा झडप भएको बताएका छन् ।
झडपपछि रिडी बजार बुधबार दिनभर तनाव ग्रस्त भएको छ  । गाडी सञ्चालन नभएपछि रिडी आइपुगेका सयौं यात्रुहरु बिहानैदेखि अलपत्र परेका थिए । आन्दोलनकारीहरुले बुधवार बेलुका ५ बजेदेखि बिहीवार बिहान ५ बजेसम्मका चक्काजाम स्थगित गरेका छन् ।