
काठमाडौं, १ कार्तिक
चीनले मानवसहितको अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । शेनजु-११ नामक यानमा दुई जना अन्तरीक्ष यात्री छन् ।
अमेरिका र रुस पछि मानिसलाई अन्तरीक्षमा पठाउने चीन तेस्रो देश बनेको छ ।
शेनजु-११ नामक अन्तरीक्ष यान सोमबार गोबी रेगिस्तानको किनारमा बनाइएको जियोचुयान स्याटलाइट केन्द्रबाट
अन्तरीक्षमा पठाइएको हो । यसमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग छन् । यी दुबै अन्तरीक्ष यात्री एक महिनासम्म अन्तरीक्ष प्रयोगशाला थियानगोंग-२ मा रहनेछन् ।
यो चिनियाँ अन्तरीक्ष यात्रीका लागि सबैभन्दा लामो अन्तरीक्ष यात्रा हो ।
चिनियाँ राष्ट्रपति शी जिनपिङले यसबाट अन्तरीक्षमा सम्भावनाहरुको खोजीमा देश धेरै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘शेनजु-११ लन्च गरेपछि भविष्यमा अन्तरीक्षको खोजीमा अझै ठूलो कदम चाल्न देश सक्षम हुनेछ । यस अभियानबाट चीनलाई अन्तरीक्ष शक्ति बन्न थप बल प्राप्त भएको छ ।’
यसको उद्देश्य चन्द्रमा र मंगल ग्रहमा अन्तरीक्ष यात्री पठाउने सम्भावनाको खोजी गर्ने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।
करिब तीन वर्ष अघि चीनका रोवर मिशन, जेड रेबिट रोबोट चन्द्रमामा पुग्न सफल भएका थिए ।










