
काठमाडौं, १५ असोज
एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर भिड्ने भएका छन् ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कलर्स एक्स-फ्याक्टर र पारस खड्काको कप्तानीमा रहेको विसाल बारियर्स भिडेका थिए । तर, वर्षाका कारण खेल अवरुद्ध भयो र दुबै टोलीले अंक बाँडे ।
यससँगै ७ अंक जोडेको कलर्स एक्स-फ्याक्टर फाइनलमा पुगेको छ भने ६ अंक जोडेको विसाल बारियर्स बाहिरिएको छ । सबै खेल जितेको पञ्चकन्या तेजको भने १० अंक छ ।
सगरमाथा लिजेन्ड्स ८ विकेटले पराजित
एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार बिहान भएको पहिलो खेलमा जगदम्बा राइनोजले सगरमाथा लिजेन्ड्सलाई ८ विकेटले पराजित गरेको छ ।
सुवेन्दु पाण्डे र शक्ति गौचनले अविजित ११० रनको साझेदारी गरेपछि जगदम्बा राइनोजले सगरमाथा लिजेन्ड्सलाई ८ विकेटले पराजित गरेको हो । जगदम्बा राइनोज दोस्रो विजय हात पार्दै चौथो स्थानमा रहयो । स्टार खेलाडीले भरिएको सगरमाथा लिजेन्ड्सले सवै ५ खेलमा पराजय बेहाऱ्यो ।