यस्तो थियो २३ हजार वर्ष पहिले माछा मार्ने बल्छी

माछा मार्नका लागि प्रयोग गरिएको विश्वकै सबैभन्दा पुरानो बल्छी फेला परेको छ । जापानको ओकिनावा आइल्याण्डमा रहेको गुफामा झण्डै २३ हजार वर्ष पुरानो बल्छी फेला परेको हो ।
समुद्री घुँगीबाट बनाइएको बल्छी फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । जापानका विभिन्न विश्वविद्यालय तथा संस्थाका पुरातत्वविदले अनुसन्धानको क्रममा विश्वकै पुरानो मानिएको बल्छी फेला पारेका हुन् ।
1200यसले माछा मार्नका लागि अपनाइएको प्रविधिको विषयमा यसअघि थाहा पाएको भन्दा धेरै कुरा पत्तालागेको अनुसन्धानकर्ताले बताएका छन् । ओकिनावा आइल्याण्डमा रहेको साकितारी गुफामा सन् २००९ देखि भएको अध्ययनबाट प्राप्त उपलब्धी पिएएनएस जर्नलमा प्रकाशित भएको छ ।
यो आइल्याण्डमा झण्डै ३० हजार वर्ष अघिदेखि मानव बसोबास रहेको वैज्ञानिकको भनाई छ । माछा मार्नका लागि त्यो समयमा पनि असअघि सोचिएको भन्दा उत्कृष्ट प्रविधि प्रयोग हुने गरेको देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।
मानव सभ्यताको सुरुको चरणमा माछा खाद्यको प्रमुख स्रोत थियो । तर माछा मार्न कस्तो प्रविधि प्रयोग गरिन्थ्यो भन्ने विषयमा यकिन जानकारी आएको छैन । अहिलेको अनुसन्धानले यस विषयमा थप जानकारी प्राप्त भएको वैज्ञानिकले बताएका छन् ।

२०७३ असोज ९ गते आइतवार प्रकाशित