जिन्दगी !

बिद्या शर्मा
गर्भे पहर
बालक बिहान
तन्नेरी दिवा
अधबैंसे साँझ
अनि बुढ्यौलो रात
जिन्दगीको परिभाषा बोक्छ
नियतिको श्याम-श्वेत घेरो तोक्छ
परिभाषालाई पूर्ण गराउन देखापर्छन्,
सेता, काला अनि कैला बादलका डफ्फाहरु
जहाँबाट निरन्तर बर्सीरहन्छन्,
हाँसो अनि आँशुका अनवरत वर्षाहरु
फेरि अर्को जिन्दगी,
परिभाषित हुन आईपुग्छ
कर्कलाको पातमा ताण्डब देखाउँछ
ढल्पल गर्दै श्वाससँग भीख माग्छ
नियतिको हुरी, हुर्रिएर आउँछ
हल्का बतास मिल्काउँछ,
बडो कष्ट उठाएर जिन्दगी, छेउभित्तो नाच्छ
कलिलो अन्त्यमै,
ऊ पातबाट झर्न पुग्छ
ईहलिला समाप्त गर्छ
फेरि अर्को जिन्दगी,
हिमालको गर्भबाट जन्म लिन्छ
पहाडका झरनामा युवावस्था देखाउँछ
आफ्नो मादक यौवन प्रदर्शन गर्छ
तर झर्छ ऊ,
भिराला पहाडी नदीहरुमा
ठोकिन्छ ऊ चट्टानबीच
बडेमानका भुमरीमा रुमलिन्छ
घुम्दो घडीको सुईसँगै ऊ फुत्किन्छ
सारा बल गुमाएको ऊ, तराई आईपुग्छ
यतिबेलासम्म ऊ वृद्ध भैसकेको हुन्छ
बहावमा कमी आउँछ,
सुस्ताउँदै ऊ गंगामा पुग्छ
त्यहीँ लीन हुन्छ
समाधी लिन्छ
यस्तै अर्को जिन्दगी पनि छ
जो,
आमाको कोख चुन्छ, जन्मिनका लागि
बाबाको चोर औंला समाउँछ, हिँड्नको लागि
जसै मुटुविनाको, मृत ती खोस्टा छुन्छ
ऊ पराई बन्छ
रिस, राग, लोभ अनि मोहमा फस्छ
भुल्छ आफैंलाई
आफ्नो आत्मा अनि ढुक्ढुकीलाई
अनि भुल्छ त्यो आउनेजाने स्वासलाई
तर,
एक खुट्किलो,
जहाँ रात पर्दै गरेको हुन्छ
जहाँ ऊ पातबाट झर्ने बेला भएको हुन्छ
अनि अर्को जहाँ ऊ गंगामा मिसिन आँटेको हुन्छ
हो सम्झिन्छ उसले स्वासलाई जिन्दगीलाई
अनि यो रितीलाई
जहाँ, आडम्बरले उसलाई गिज्याईरहेको हुन्छ
धनको त्यो पुरानो मोहले दिक्दारी तुल्याईरहेको हुन्छ
बबुरो जिन्दगी,
आफ्नो फरक रूप हेरेर जिल्ल पर्छ
न सोध्न कोही गुरु भेट्छ
न बुझ्न केही साध्य देख्छ
बस् अल्मलिन्छ
एकोहोरिन्छ..

बालाजु