म्याग्दी, ७ असोज/ युवा साहित्यकार शङ्कर चोखालद्वारा लिखित “अतृप्त प्यास जिन्दगीको” नामक मुक्तक सङ्ग्रहको शुक्रबार एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्रेमप्रकाश पौडेलले उक्त सङ्ग्रहको विमोचन गरेका हुन् ।
म्याग्दी साहित्य सञ्चारले सुरु गरेको बुलबुलको आगनमा कार्यक्रम अन्तर्गत शुक्रबार बुलबुलमा शङ्कर नाम दिएर उक्त कार्यक्रमको आयोजना गरेको थियो । आगामी दिनहरुमा पनि बुलबुलको आगनमा नयाँ नयाँ स्रष्टाहरुलाई ल्याउने म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भुषालले बताए ।
शिक्षा क्षेत्रसँग आवद्ध रहेका चोखालको यो दोस्रो कृति हो । यस अगाडि नै सिर्जनाको फूल नामक कविता सङ्ग्रह सयुक्त रुपमा प्रकाशित गरिसकेका चोखालले निरन्तर साहित्य साधनाले मुक्तक सङ्ग्रह प्रकाशन सहज भएको बताए । बेनपा १० न्याप्टेचौरमा जन्मीएका चोखालले फुटकर गजल, कविताहरु समेत लेख्ने गरेका छन् ।
विमोचन कार्यक्रममा बोल्दै प्रेमप्रकाश पौडेलले पछिल्लो समयमा म्याग्दीको साहित्यले फड्को मार्दै गएको बताए । अग्रजदेखि अनुजसम्मका साहित्यकारहरुको उपस्थितिलाई लक्षित गर्दै पौडेलले अब म्याग्दीको साहित्यलाई नयाँ पीढिले हाकिरहेको र अझै शसक्त बनाउन आग्रह गरे । कार्यक्रममा साहित्यकार धु्रवलाल शर्मा, रामप्रसाद सुवेदी, अजय मिलन श्रेष्ठ, भक्त कार्की, रघुगंगा माविका प्रअ रमेशसिं ठकुरी, चन्द्रबहादुर लामिछाने, कार्यक्रम संयोजक समिर रोका लगायतले बोलेका थिए ।
कार्यक्रममा कृतिकार चोखालले विभिन्न चरणमा एकल कविता, गजल र मुक्तक बाचन गरेका थिए । यथार्थपरक र चोटीला रचना व्यक्त गरेका चोखाललाई सहभागीहरुले वीचवीचमा तालिले साथ दिएका थिए । चोखालका प्रकाशित मुक्तक सङ्ग्रहमा समाजका रहेका विषय वस्तुलाई मुक्तकको माध्यमबाट उजागर गर्ने प्रयास गरेका छन् ।
संस्थाका अध्यक्ष भुषालको अध्यक्षता, उपाध्यक्ष सुशील थकालीको स्वागत तथा सचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।