
हरिकृष्ण गौतम
म्याग्दी, १७ भदौ
उत्तरी म्याग्दीको बेग गाविस–६ विहिबार राती आएको बाढीले कालिगण्डकी नदी थुनिएको थियो । तिब्र गतिमा आएको ठाडोखोलाले कालिगण्डकी पार गरेर हिस्तानको जंगलसम्म पुगेको स्थानीय दुत बहादुर सिङ्जालीले बताए । ’केहीबेर कालिगण्डकी नदी समेत सानो खोला जस्तै देखिएको थियो । हिस्तान आसपासको क्षेत्रमा बहिनासम्म नदीले कटान गरिरहेको थियो’ उनले भने ।
बेगको माथिल्लो क्षेत्रमा रहेको पहिरो खसेपछि आएको बाढीले एकमिनेटमै ११ वटा घरलाई बगाएको थियो। तिब्रगतिमा आएको बाढीले बेलिब्रिज सहित पुरानो भोलुङे पुल समेत बगाएको छ । उत्तरी म्याग्दी सहित मुस्ताङ जोड्ने बेनी जोमसोम सडक समेत अवरुद्ध बनेको छ । सडकमा कालिगण्डकी तथा बेगबाट बग्ने खोलाले बगर बनाएको छ । बेग गाविस–९तिप्लाङ आसपासका क्षेत्रमा समेत कालिगण्डकीले असर गरेको छ ।त्यसक्षेत्रमा समेत सानो सानो पहिरो गएको छ ।पहिरोले पुरिएको बस्ती र तिप्लाङ जोड्ने सडक अवरुद्ध भएपछि स्थानीयबासी सहित पर्यटकलाई समेत आवतजावतमा समस्या भएको छ । ठाडोखोला सहित कालिगण्डकीले समेत सडकमार्गलाई असर गरेपछि आवतजावत पुर्णरुपमा रोकिएको छ। नदीले बेग, हिस्तान लगाएतको क्षेत्रमा कटान गरेको छ । विहान ९ बजेसम्म हिस्तानको जंगल कटान संगै पहिरो खसेको थियो । बाढी र पहिरोले कालिगण्डकी धमिलो आइरहेको छ ।
बिहिबार राती कालिगण्डकी थुनिएको भन्दै गलेश्वर लगाएतका क्षेत्रका स्थानीयले प्रहरीलाई समेत खवर गरेका थिए भने केही बेर पानीको सतह घटेपछि कालिपुल प्रहरीले समेत जानकारी गराएको थियो । क्षतीको विवरण हेर्दा बेगको माथिल्लो क्षेत्रमा भिषण पहिरो गएको देखिन्छ । बाढीले क्षती पुगेका आसपासका क्षेत्रका केही घरलाई नदी कटानको जोखिम कायमै रहेको छ । स्थानीय भिममायाँ गर्बुजा, नन्दप्रसाद भटचन र भगवती गाविस–१ मा बसोबास गर्ने केही घरहरू कालिगण्डकी नदीको कटानको जोखिममा छन् ।