गलकोटका ५ गाबिसमा खानेपानी निर्माण

गुमानसिह भण्डारी
बागलुङ, ९ भदौ
खानेपानी डिभिजन कार्यालय बागलुङले आर्थिक वर्ष ०७२/०७३ मा गलकोटका ५ गाबिसमा खानेपानी आयोजनाका लागी खर्च गरेको छ । गलकोट खानेपानी आयोजना अन्तर्गत हटिया बजार क्षेत्र, वडा नम्बर ३ चिसापानी क्षेत्र, वडा नम्बर ५ सोमपोखरा क्षेत्र, वडा नम्बर ६ डाडाँखेत क्षेत्रमा १ लाख ५ हजार बराबरको काम सम्पन्न भएको छ ।
दुदिलाभाटी गाबिसमा चौराह दुदिलाभाटी खानेपानी आयोजनाको ६५ लाख बराबरको कार्य सम्पन्न भएको खानेपानी आयोजनाले जनाएको छ । आयोजना निर्माण भए लगतै वडा नम्बर दुदिलाभाटी वडा नम्बर २, ३ र नरेठाटी ४ का उपभोक्ताहरु लाभाम्बित हुने आयोजनाका सचिव गुमानसिह बुढाथोकिले बताउनुभयो ।
गलकोटको हरिचौरमा ७० लाख बराबरको लागतमा हरिचौर खानेपानी आयोजना निर्माण गरिएको छ । आयोजनाको बाँकी कार्य सम्पन्न भए लगतै हरिचौर वडा नम्बर १, ३, ५, ८ र ९ का ६ सय ७८ उपभोक्ताहरु लाभाम्बित हुने आयोजनाले जनाएको छ ।
यसैबिच नौलिस्ने खानेपानी आयोजनामा ९ लाख ९२ हजार बराबरको कार्य सम्पन्न भएको छ । खानेपानी आयोजना निर्माण भए लगतै हरिचौर गाबिस भित्रका ४, ६ र ७ वडाका उपभोक्ताहरु लाभाम्बित हुने बताईएको छ । मल्म दास्रो खानेपानी आयोजना निर्माणको लागी २ करोड १ लाख ८७ हजार खर्च भएको छ । आयोजना निर्माण भए लगतै मल्म १ का ३ सय ४२ उपभोक्ता लाभाम्बित बनेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ ।