महामारीले एक करोड २० लाख क्षति

बाबियाचौर (म्याग्दी), ९ भदौ
जिल्लामा प्राकृतिक विपद् र महामारीका कारण छ महिनायता रु एक करोड २० लाख ६७ हजार बराबरको पशुधन क्षति भएको छ ।
झुसीलकिराको प्रकोप, बाढी, पहिरो र चट्याङले ७५ कृषकले पालेका पशु चौपाया मरेका जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । प्राविधिक टोलीले क्षतिको मूल्याङ्कन गरी जिल्ला विपद् व्यवस्थापन समिति र पशुसेवा कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
यसैगरी चिमखोला, दग्नाम र बेग गाविसमा झुसीलकिराको प्रकोपका कारण ६५ कृषकका करिब ७०० पशु चौपाया मर्दा रु एक करोड छ लाख ७२ हजार बराबरको क्षति भएको थियो । पीडित कृषकलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी क्षतिपूर्तिका लागि पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरिएको वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले जानकारी दिनुभयो । रासस