बागलुङमा २ दिनमा ३८ ग्राहकको विद्युत लाइन काटियो

अर्जुन कार्की
बागलुङ, ८ भदौं – प्रचण्ड सरकारका उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल विद्युत प्राधिकरणलाई बक्यौता रकम नतिर्ने ग्राहकहरुको लाईन काट्न निर्देशन दिएपछि विद्युत वितरण केन्द्र बागलुङले बक्यौता नतिर्ने उपभोक्ताको विद्युत प्रशारण काट्न थालेको छ ।
केन्द्रले सोमबार र मंगलबार विद्युतको वक्यौता नबुझाउने ३८ घरको विद्युत लाईन काटिदिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका ईन्जिनियर सदाम बालाले जानकारी दिए । उनले साउन महिना भरीमा २९ घरको विद्युत लाईन काटिएको बताए ।
इन्जिनियर बालाले सोमबार र मंगलबार नगरपालिकासंगै बेलावा, पैयुपाटा, नारायणस्थान, तित्याङ, रायडाँडा, भकुण्डे, गल्कोटको हटिया, नरेठाटी, विहुँ, रेश, सिगाना गाविसमा लाईन काटिएको जानकारी दिए । विद्युतको बक्यौता महशुल बुझाउन पटक–पटक सूचना जारी गरेर ताकेता गर्दा पनि महशुल नबुझाएका ग्राहकहरुको लाईन काटिएको कार्यालयले जानकारी दिएको छ ।
‘हामीले पहिले पनि ३ महिनासम्म विद्युत महशुल नबुझाउने ग्राहकलाई जानकारी दिईने र बेवास्ता गरेका कारण लाईन काट्न थाल्यौ’ ईन्जिनियर बालाले भने– ‘अहिले मन्त्रालयबाट नै निर्देशन आएपछि पहिलेभन्दा पनि लागेर लाईन काट्ने काम भएइरहेको छ ।’
विद्युत कार्यालयले प्रत्येक महिनाको १ हप्ता महशुल नबुझाउनेहरुलाई जानकारी गराउने र लाईन काट्ने नियम नै बनाएको छ ।
‘बागलुङका धेरै जसो ग्राहकले महशुल बझाउँदै आएका छन् ।’ इन्जिनियर बालाले भने– ‘कोही–कोही ग्राहक केही कामले छुटेमा पनि जानकारी गराएपछि धेरैले महशुल बझाउँने गरेका छन् ।’
जिल्लामा सबैभन्दा धेरै बक्यौता बागलुङ नगरपालिकाको सडक बत्तिको ३ लाख २० हजार ४ सय ३० रुपैयाँ रहेको र उक्त रकम नगरपालिकासँग कुरा गर्दा मन्त्रालयमार्फत तिर्ने जानकारी गराएको ईन्जिनियर बालाले बताए ।
उनले जिल्लाका केही सरकारी कार्यालयले पनि महशुल नबुझाएकोले पहिले ७ दिन भित्र बुझाउनको लागि मंगलबार पत्र पठाउन शुरु गरिएको बताए ।
‘बक्यौता नबुझाउने ग्राहकको लिस्ट नै बोकेर कार्यालयका कर्मचारीहरु विद्युत लाईन काट्न ठाउँ–ठाउँमा खटिएका छन्’ ईन्जिनियर बालाले भने– ‘बक्यौता रकम ग्राकहले तुरुन्त बुझाउन सकेमा लाईने काटिदैन ।’ ‘हामीले विद्युत लाईन काटने बेलामा पनि खबर गर्दछौं र उहाँहरुले १ दिन भित्रमा बक्यौता तिर्ने जानकारी दिएमा १ दिनको लागि पर्खने गरेका छौं’ –ईन्जिनियर बाला भने ।
जिल्लामा लोडसेडिङ नभएपनि धेरैजसो बिजुली छिन–छिनमा गइराख्ने गरेको भन्ने नागरिकहरुको गुनासोलाई इन्जिनियर बालाले मोदीदेखि म्याग्दीको तातोपानीसम्म विद्युत लाईन प्रशारण भएको र घाँसा भन्ने स्थानमा धेरैजसो फल्ड हुने गरेकोले उक्त समस्या आएको बताए । उनले आफुहरुले उक्त समस्या समाधानको लागि पहल गरिराखेको जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङ नेपाल विद्यतु प्राधिकरणको वार्षिकोत्सवको अवसरमा नेपालकै उत्कृष्ट केन्द्र घोषणा भएको थियो ।