सातौँ राष्ट्रिय खेलकुदको छनौट भदौ २५ देखि असोज १४ सम्म हुने

बागलुङ, ८ भदौ
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा बागलुङ जिल्लाबाट सहभागी हुने खेलाडी छनौटका लागि भदौ २५ देखि असोज १४ गतेसम्म छनौट प्रतियोगीता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङको बैठकले राष्ट्रिय प्रतियोगीताको लागि जिल्ला स्थित विभिन्न खेलकुल संघसँग समन्वय गरी सम्बन्धीत खेलका संघहरुलाई उक्त खेल छनौटको जिम्मेवारी दिनुका साथै जिल्ला खेलकुद विकास समितिले अनुगमन गर्ने निर्णय गरेको छ ।
बागलुङबाट २ सय २४ जना खेलाडी छनौट हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो । जिल्लाबाट छनौट भएको खेलाडीहरु क्षेत्रीय प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने छन ।
क्षेत्रमा उत्कृष्ट हुने खेलाडी मंसिर ८ गतेदेखि १५ गतेसम्म विराटनगरमा संचालन हुने राष्ट्रिय प्रतियोगीतामा सहभागी हुने अवसर प्राप्त गर्ने अध्यक्ष परियारको भनाई रहेको छ । जिल्लाबाट पुरुष फुटबलमा १८, एथ्लेटिक्स तर्फ ६ पुरुष ४ महिला गरी १०, बक्सिङमा पुरुष ७, तेक्वान्दो तर्फ १३ पुरुष, १३ महिला गरी २६ जना, करातेमा १० जना पुरुष मात्र रहेका छन ।
यस्तै, भारोत्तोलनमा ५ जना पुरुष, भलिबलमा १० पुरुष, १० महिला गरी २० जना, तेबल टेनिसमा ३ पुरुष, ३ महिला गरी ६, ब्याडमिन्टन अन्तर्गत ६ पुरुष ४ महिला गरी १०, उस्सुमा १० पुरुष १० महिला सहित २६ जना, जुडोमा दुई, बास्केट बलमा १० जना पुरुष खेलाडी छनौट गरिने अध्यक्ष परियारले बताउनुभयो ।
चेसमा २÷२ जना पुरुष महिला, ह्याण्डवलमा १२ जना पुरुष, आईटिएफमा १४ पुरुष ११ महिला गरी २५ जना, फूलकन्ट्याक करातेमा ६ पुरुष ४ महिला गरी १०, सुटिङमा ६/६ जना महिला पुरुष, र क्रिकेटमा १४ जना पुरुष खेलाडी छनौट गरी क्षेत्रीय प्रतियोगीतामा पठाईने अध्यक्ष परियारको भनाई रहेको छ । क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।