रामरेखा निमाविमा शैक्षिक सामग्री बितरण तथा कोष

विक्रम सूनार
बागलुङ, ८ भदौ
बागलुङ नगरपालिका १ मा रहेको रामरेखा निम्न माध्यामिक विद्यालय बागलुङमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा अक्ष्य कोष स्थापना कार्यक्रम मंगलवार एक साथ सम्पन्न भएको छ ।
जिल्लाको गल्कोट नरेठाटी घर भएका केशव सुनार र सिता सुनारले विद्यालयमा अध्ययनरत १ देखि ८ कक्षा सम्मका १ सय १८ जना विद्यार्थीलाई १० हजार बराबरको कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।
आफ्नी छोरी सृष्टी सुनारको जन्मदिन पारेर शैक्षिक सामाग्री वितरणका साथै र आफ्ना स्वर्गिय पिता भुपलाल सुनारको सम्मानमा बिद्यालयमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई प्रत्येक बर्ष शैक्षिक सामग्री उपलब्धि गराउन १० हजार १० रुपैयाँको अक्ष्य कोष समेत स्थापना गर्नुभएको बिद्यालयका प्रधानाध्यापक धनकुमारी पराजुलीले बताउनुभयो ।
हाल बेल्जियममा बस्दै आएका सुनार दम्पतिले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा थप टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरेको बताएका छन् । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै केशव सुनारले जिल्लाको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर न्युन रहेकाले यस प्रति ध्यान दिन आग्रह गर्दै आफुले गरेको सहयोगले विद्यार्थीमा थोरै भए पनि उत्साह थपिने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक धनकुमारी पराजुली र विद्यार्थीका तर्फबाट विद्या सुनारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गरिएको सहयोगी कार्य प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुक्र बोहोराको अध्यक्षता, शिक्षक बिष्णु पौडेलको स्वागत मन्तव्य र रेशम गोतामेको सञ्चालनमा सम्पन्न भएको थियो ।