रुट परमिट नलिएका पर्वतका ३३ ग्रामीण सडक ठप्प

बागलुङ, ८ भदौ
रुट परमिट बिना सवारी साधन संचालन हुँदै आएका पर्वतका ३३ वटा ग्रामीण सडक ठप्प बनेका छन् ।
ग्रामीण क्षेत्रमा संचालन हुँदै आएका सवारी साधनमा रोक लगाईएको हो । यातायात व्यवस्था विभागबाट जारी सूचना अनुरुप जिल्लाका विभिन्न गाविस जोड्ने सडक सञ्जालमा सवारी साधनहरु संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
सार्वजनिक सवारी सञ्चालन आचारसंहिता अन्तर्गत सञ्चालन नभएको भन्दै जिल्लाका सवैजसो सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । सोमवार देखि नै लागु हुनेगरी रोक लगाइएपछि ग्रामीण क्षेत्रका सर्वसाधारणहरु मारमा परेका छन् ।
सवारी साधनमा रोक लगाइएपनि अर्को व्यवस्था जारी नभएसम्मका लागि अत्यावश्यक स्थानमा सवारी सञ्चालन गर्न दिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम कुशमाबजारबाट विभिन्न ३३ वटा ग्रामीण सडकहरुमा विना इजाजत सवारी सञ्चालन हुँदै आएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको वैठकले यातायात विभागबाट अस्थायी सडक कायम नगर्ने बेला सम्म ग्रामीण सडकमा यातायातका साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।
सवारी साधन सहज रुपमा संचालन गर्न सकिने पर्वतका १७ वटा ग्रामीण सडकमा अस्थायी सडक कायम गरी सेवा संचालन गर्ने र भाडादर निर्धारण गर्न यायात व्यवस्था कार्यालय बागलुङ मार्फत यातायात व्यवस्था विभागमा पठाउने निर्णय समेत समितिले गरेको छ ।
सवारी साधन जोखिमपुर्ण रुपमा संचालन भएको जिल्लाका अन्य १६ वटा सडकहरुमा स्थलगत अनुगमन गरी अस्थायी सडक कायम गराउन सिफारीस गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जानकारी दिनुभयो ।
अहिले अस्थायी सडक कायम गर्न सकिने १७ वटा सडक रहेका छन्, वाँकी १६ वटा सडकका लागि भने स्थलगत अनुगमन गरी अनुगमनको रिपोर्टका आधारमा इजाजत प्रदान गर्ने नगर्ने निर्णय गर्ने ढकालले बताउनुभयो । ग्रामीण क्षेत्रमा संचालन हुने सवारीसाधनहरुमा यात्रुको अत्याधिक चाप सँगै जोखिमपुर्ण यात्रा गर्ने र दुर्घटना निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो ।
यातायात व्यवस्था विभागबाट तीन दिन भित्र अस्थायी बाटो कायम गराउने आश्वासन पाएको र सो अवधि सम्म ग्रामीण सडकमा पुर्ण रुपमा यातायात बन्द गरिने प्रमुख जिल्ला अधिकारी मरासिनीले बताउनुभयो । सडक अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिले एक साता भित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिइएको छ ।
यस्तै प्रहरी निरिक्षक ध्रुववहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि कार्ययोजना निर्माण गर्न समेत कार्ययोजना मस्यौदा तर्जुमा उपसमिति गठन गरिएको प्रजिअ मरासिनीले जानकारी दिनुभयो ।