
भदौ, ७ पर्वत
यो वर्षदेखि पर्वतमा पाडापाडी पाल्ने किसानलाई प्रोत्साहन भत्ता दिन लागिएको छ ।
भैँसी संरक्षणका लागि भन्दै पशु सेवा कार्यालय पर्वतले पाडापाडी पाल्ने किसानलाई ३ सय रुपैयाँ प्रोत्साहन स्वरुपा दिने निर्णय गरेको हो ।
स्थानीय लिमे र पारकोटे जातका भैँसी लोप हुन थालेपछि कार्यालयले नेपालमै पहिलोपल्ट पोहोरदेखि भैँसी ब्याएको परिवारलाई ५ सय रुपैयाँ भत्ता दिँदै आएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार भैँसी ब्याएपछि पाडो वा पाडी जे भएपनि पाल्ने र कृत्रिम गर्भाधान गरी ब्याएका भैँसीका लागि ५ सय भत्ता दिन थालिएको छ । स्थानीय जातका भँैसी हराउँदै जाने र भैँसी ब्याउने बित्तीकै पाडापाडी मासुका लागि बध गर्ने चलन बढेपछि यस्तो अभियान थालेको कार्यालयका पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले बताउनुभयो ।
‘भैसीले पाडापाडी जन्माए पछि पाडापाडी नराख्दा स्थानीय जात लोप हुन थालेकाले पाडापाडी संरक्षण गर्न कृषकलाई प्रोत्सान होस भनेर भैँसीलाई सुत्केरी भत्ता दिन थालिएको हो’ उहाँले भन्नुभयो ‘अभियानका कारण पाडापाडी बध गर्ने चलन हट्ने र कृत्रिम गर्भाधान गराउने कुरा बढाउने विश्वास छ ।’
कार्यालयले गएको आर्थिक वर्ष २०७२/०७३ मा १ सय पशुधनी किसानलाई भत्ता दिने लक्ष्य राखेको भएपनि जम्मा २५ जनाले मात्रै सुविधा लिएका छन् ।
पर्वतमा स्थानीय लिमे र पारकोटे जातका भैँसी मासुका लागि बध गर्न थालिएपछि लोप हुन थालेका छन् । माउ भैँसी बध गर्ने तथा पाडापाडी हुर्काउन झण्झट मानेर बध गर्न थालिएपछि संरक्षणका लागि विभिन्न अभियान चलाइँदै आएको छ ।