
म्याग्दी, ६ भदौं
म्याग्दीको बाबियाचौर–५ लाम्पाटामा सोमबार दिउँसो कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
बेनीबाट दरवाङतर्फ जाँदै गरेको बा१५च ३८६९ नम्बरको निजी कार सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक दरवाङ–३ का ३१ वर्षीय तेजेन्द्र जुक्जाली, अर्मन–२ की ५५ वर्षीया जगमती किसान, १९ वर्षीया सिर्जना किसान, पर्वत मल्लाज घर भई अर्मन–२ बस्ने ६ वर्षीया रेखा किसान र रुम–९ की १६ वर्षीया मुस्कान रोका घाइते भएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताए ।
घाईतेहरुलाई स्थानीयबासी, प्रहरी र यातायात व्यवसायीले घटनास्थलबाट उद्दार गरी उपचारका लागि बेनीस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । रोका बाहेक अरु सबै घाइते बोल्न नसक्ने अवस्थामा छन् ।
लाम्पाटाको पहिरो नजिकै कार फर्काउने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुले बताए ।