आतंकवादलाई बढावा दिने अढाइ लाख टि्वटर अकाउन्ट बन्द

माइक्रोब्लगिङ साइट टि्वटरले आतंकवाद तथा हिंश्रक चरमपन्थलाई बढावा दिएको भन्दै पछिल्लो ६ महिनामा २ लाख ३५ हजार टि्वटर अकाउन्टमा प्रतिबन्ध लगाएको छ ।
यो सँगै सन् २०१५ यता आतंकवादलाई प्रवर्द्धन गरेको अभियोगमा प्रतिबन्ध बेहोर्ने टि्वटर अकाउन्टको संख्या ३ लाख ६० हजार पुगेको छ ।
चरमपन्थी संगठनहरुले हिंश्रक सन्देश पठाउनका लागि आफ्नो प्लेटर्फमको दुरुपयोग नगरुन् भन्नका लागि टि्वटरले कोसिस जारी राखेको छ । गत फेब्रुअरीमा टि्वटरले एक तथ्यांक सार्वजनिक गर्दै आतंकवादको प्रवर्द्धन तथा हिंश्रक धम्कीसँग सम्बन्धित १ लाख २५ हजार टि्वटर अकाउन्टहरु सन् २०१५ यता बन्द गरिएको जानकारी दिएको थियो ।
टि्वटरले एक ब्लग पोष्टमा लेखेको छ , हामी आतंकवादी घटनाको निन्दा गर्दछौँ । हाम्रो प्लेटर्फमलाई कुनैपनि मानिसले हिंसा वा आतंकवादको प्रवर्द्धनका लागि प्रयोग गर्न नपाउन् । यसका लागि हामी प्रतिबद्ध छौँ ।
अहिले चरमपन्थी सामाग्रीहरु प्रकाशित गर्ने अकाउन्टहरुको शिघ्र पहिचान गरी त्यस्ता अकाउन्टलाई प्रतिबन्धित गर्ने काम भैरहेको टि्वटरले जनाएको छ ।
साथै प्रतिबन्धित टि्वटर ह्याण्डिलको संचालकले पुनः त्यस्तै खालको अर्को टि्वटर अकाउन्ट खोल्न नपाओस् भन्नका लागि पनि एक अर्को कदम उठाउन लागिएको जानकारी टि्वटरले दिएको छ ।

२०७३ भदौ ४ गते प्रकाशित