राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको लागि बागलुङ आए पुन

युवराज कंडेल
बागलुङ, ४ भदौ
राष्टिय अबिष्कार केन्द्र निर्माणको लागि सरकारीतवरबाट सहयोग नपाएपछि अविष्कार केन्द्रका अभियान्ता महावीर पुन सहयोगका लागि जनताको माझमा आएका छन् ।
सहयोग अभियान लिएर पुनले शनिबार धौलागिरीका ३ ओटा जिल्लामा अन्तरक्रिया तथा छलफल गरेका छन् ।
बिज्ञान र अविष्कारको क्षेत्रमा २५ बर्षदेखी शक्रिय पुन सहितको टोलीले सुरु गर्न लागेको केन्द्रको बारेमा स्थानीयलाई जानकारी गराएर स्थानीयस्तरबाटै करिब ४० करोड संकलन गर्ने गरी पहिलो चरणको अभियान सुरु गरेको बागलुङमा आयोजित अन्तरक्रियामा पुनले बताएका छन् ।
शनिबार बागलुङमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र कम्प्युटर एशोशियन नेपालले आयोजना गरेको कार्यक्रममा पुनले आबिष्कार केन्द्रको लागि लाग्ने स्थापना र व्यवस्थापनको लागि १० मेघावाटको जलविद्युतले मात्रै सम्भव रहेकाले पहिलो चरणमा जलबिद्युत निर्माण गर्नुपरेको बताए ।
जलबिद्युत निर्माणको लागि करिव डेढ अर्ब लाग्ने र जसमध्ये ६० देखी ७० प्रतिशत बैकहरुले लगानी गर्ने जनाएकाले स्थानीयस्तरबाट ३० देखी ४० प्रतिशत लगानी संकलन गर्नुपर्ने पुनले बताए ।
करीब ४० बर्ष अघि नेपालकै समान हैसियतमा रहेका विश्वका अन्य मुलुकहरु विज्ञान प्रविधिको प्रयोग र अबिष्कारबाट अहिले विकासमा नमुना बनिसकेकाले नेपालमा पनि आविस्कार केन्द्र खोल्नु आवश्यक देखिएको पुनले बताए । सरकारी तवरबाट हुनुपर्ने काम गैरसकारी संस्था निर्माण गरेर बनाउनुपर्ने बाध्यात्मक अबस्था आएकाले सबै नेपालीले आबिष्कार केन्द्र निर्माणको लागि सहयोग गर्न पुनले आग्रह गरे ।
आबिष्कार केन्द्रमा यस क्षेत्रमा रुचि र क्षमता भएका व्यक्तिहरुलाई स्वदेशमै निःशुल्क खोज अनुशन्धान तथा अबिष्कार गर्न सकिने पुनले बताए । कार्यक्रममा रकम संकलन गर्ने बिषयमा निरन्तर संवाद र छलफल गर्ने तथा अभियानै चलाएर अघि बढ्ने जनाइएको छ । साथै उक्त अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका कोषाध्यक्ष अर्जुन चोखालले २० हजार र नेपाल पत्रकार महासंघ बागलुङ जिल्ला शाखा बागलुङको तर्फबाट ५ हजार उपलब्ध गराउने घोषणा गरिएको छ ।