प्रताप बानियाँ
म्याग्दी, ४ भदौ
सामाजिक कार्यकर्ता महाविर पुनले प्रतिभाशाली सन्ततिहरुको प्रतिभाको पालनपोषण गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भएको बताएका छन् । शनिबार म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापना विषयक अन्तत्र्रिmयामा बोल्दै उनले विदेशिएका हजारौं प्रतिभाशाली सन्ततिलाई स्वदेशर्म फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको बताएका हुन् ।
उनले प्रतिभाशाली युवालाई नेपालमा काम गर्ने वातावरण नभएको बताउँदै दक्ष र क्षमतावान् युवाले स्वदेशमै काम गर्ने वातावरण तयार गर्न विज्ञान तथा प्रविधि मन्त्रालयको दीगो विकास गर्नुपर्ने बताए । उनले नेपालले अन्य विकसित देशहरुलाई हेरेर पाठ सिक्नुपर्ने भन्दै देश विकासका लागि मानव पुँजी र विज्ञान तथा प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
सामाजिक कार्यकर्ता पुनले विज्ञान तथा प्रविधि पनि देश विकासको एउटा औजार भएको बताएका छन् । उनले उद्योगधन्दाको विकास नभएसम्म देश विकास हुन नसक्नेतर्फ जोड दिँदै देश विकास गर्न व्यापार गर्नुपर्ने बताए । कुनै पनि देश धनी बन्नका लागि व्यापार गर्नुपर्ने भएकाले संसारका विकसित सबै देशले व्यापार गरिरहेको भन्दै उनले व्यापार गर्न विज्ञान तथा प्रविधि आवश्यक रहेको स्पष्ट पारे ।
देशको कुल ग्रार्हस्थ उत्पादनको शुन्य दशमलब ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने आफ्नो प्रस्तावमा कुनै पनि सरकार नमानेको सामाजिक कार्यकर्ता पुनले आरोप लगाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रको विकासका लागि सरकारसँग बजेट माग गर्दा नदिइएको बताउँदै उनले देशमा विज्ञान र प्रविधिको क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्न नसकेको बताए ।
अब देशको आर्थिक विकास गर्न र युवा प्रतिभालाई काममा लगाउन राष्ट्रिय आविष्कार केन्द्र लागिपरेको बताउँदै उनले त्यसका लागि अभियान सञ्चालन भैरहेको जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले नेपालको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणका सबै जिल्लाका गाउगाउँमा पुगेर देशमा विज्ञान र प्रविधिको विकासका लागि अभियान सञ्चालन गरिने बताएका छन् ।
आविष्कार केन्द्रको स्थापना र सञ्चालनका लागि अहिले स्वदेश तथा विदेशमा अभियान चलिरहेको बताउँदै उनले यसमा सबै नेपालीले सहयोग गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष पुनले आविष्कार केन्द्रमार्फत युवा प्रतिभालाई देश विकासका लागि विभिन्न क्षेत्रको अध्ययन र अनुसन्धानमा लगाइने बताए । आविष्कार केन्द्रको दीगो विकासका लागि १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने समेत उनले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले नेपालमा यार्सागुम्बा, रातोचन्दनलगायत थुप्रै बहुमुल्य जडिबुटीहरु रहेको हुँदो त्यसको उत्खनन् र बजारीकरण गर्नुपर्ने बताए । उनले खोज अनुसन्धान गर्ने व्यक्तिलाई कसैले पनि सम्मान दिन नसकेको भन्दै देश विकासका लागि सबै लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा पूर्वसभासद गोविन्द पौडेल र नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा सहभागी राजनीतिक दल, उद्योगी/व्यापारी, विद्यार्थीलगायतबाट राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक सङ्कलन समेत गरिएको छ । कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत र महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।