राजेशचन्द्र राजभण्डारी
बागलुङ, ३ भाद्र
सूचना पाउने हाम्रो अधिकार, नपाए खोजौं उपचार भन्ने नारा साथ बागलुङ सदरमुकाममा राष्ट्रिय सूचना दिवस २०७३ अन्तरक्रिया कार्यक्रम गरी मनाइयो ।
जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको सूचना दिवसमा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जनतालाई सही सूचना समयमा नदिने जो कोही कार्यालय प्रमुखलाई अब आफुले कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सरकारले सूचना पाउने अधिकारको सुनिश्चित गरेको छ तर सरकारी निकायमा रहेका जिम्मेवार व्यक्तिले सूचना दिने भनेर जिम्मेवारी दिएपनि बागलुङमा रहेका सूचना अधिकारीहरु स्वयं जिम्मेवार नभएकोमा आफुलाई दुःख लागेको प्रजिअ पाण्डेले भनाई रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम माबागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदी, कोष तथा लेखा नियन्त्रण कार्यालयका महादेव सापकोटा, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पत्रकार प्रकाश बराल, नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठ, गलकोट सूचना तथा संचार सहकारीका सचिव राज थापा लगायतका सरोकारवालाले सरकारले सूचना पाउने अधिकार दिएपनि व्यवहारमा भने त्यो पाउन समस्या रहेको, चाहेको बेलामा सही सूचना पाउन नसकेको गुनासो राख्दै यसमा सुधार गरेर लैजानुपर्ने धारणा राखेका थिए ।
सरकारी स्तरमा प्रशासन कार्यालयले आयोजना गरेको सूचना दिवसमा समेत बागलुङ जिल्लाका आधा कार्यालयको पनि उपस्थिति रहेको थिएन ।प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम संचालन पत्रकार महासंघका सचिव दिल शिरिषले गर्नुभएको थियो ।