
म्याग्दी, २ भदौ
म्याग्दीको गुर्जामा चट्याङ लागेर दुई कृषक घाइते भएका छन् भने ७२ भेंडा मरेका छन् ।
स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका हुन् । ७ कृषकको ७२ वटा भेंडा मरेको गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
बिहान मात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको छ् । चट्याङ लागेर घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेंडा मरेका थिए ।
रातको समयमा भेंडा राखेको खर्कमा चट्याङ परेको थियो । त्यस स्थानमा संयुक्त भेंडागोठ थियो । अन्य घाइते भेंडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको संख्या बढ्न सक्ने छन्त्यालले बताउनुभयो ।
ती भेंडा मरेर १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागाईंले क्षतिको विवरण संकलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो । रासस