मेकअपअघि ५ मन्त्र


शारदा थापा क्षेत्री सौम्य ब्युटिपार्लर, जमल

सौन्दर्यको चाहनामा हरेक महिला अनुहारको मेकअप चाहन्छन् । कोही ब्युटिपार्लर गएर सुन्दर बन्छन् त कोही घरमै सक्दो राम्री हुने प्रयास गर्छन् । तर, कतिपय स–साना अज्ञानताले मेकअप आकर्षक नदेखिन सक्छ । मेकअप गर्ने कतिपयलाई थाहा नहुन सक्छ, मेकअप सुरु गर्नुअघि पनि गर्नुपर्ने सामान्य तर महत्वपूर्ण काम हुन्छन् । ब्युटिसियन शारदा थापा क्षेत्रीले मेकअपअघि अपनाउनैपर्ने पााच मन्त्र दिएकी छिन् :

सबैभन्दा पहिले तपाईं निश्चित हुनुहोस् कि कस्तो प्रकृतिको मेकअप गर्दै हुनुहुन्छ ? फरक–फरक प्रयोजनका लागि मेकअपका तरिका पनि फरक गर्नुपर्ने हुनसक्छ । सामान्य या हेभी कस्तो मेकअप गर्ने भन्ने विषय उपस्थित हुने ठाउँको माहोल, महत्त्व र तपाईंको भूमिकामा फरक पर्छ । त्यसैले आफ्नो मेकअपमा तपाईं त्यतिवेला ढुक्क बन्न सक्नुहुन्छ, जतिवेला कस्तो मेकअप गर्ने भन्ने निश्चित गर्नुहुन्छ ।
निश्चित भएर गरेको मेकअपले आत्मविश्वास बढाउन ठूलो भूमिका राख्छ ।  मेकअपको प्रकृतिअनुसार मेकअप किट्स आवश्यक पर्छ । मेकअप सुरु गरेपछि यो भएन या त्यो भएन भनेर छटपटाउनु पर्‍यो भने परिणाम राम्रो आउँदैन । त्यसैले आफूलाई आवश्यक पर्ने सबै मेकअप सामग्री पहिल्यै एक ठाउँमा जम्मा गर्नुहोस् । स्किनलाई म्याच गर्ने क्वालिटीका प्रोडक्ट प्रयोग गर्नुहोस् । आफूलाई चित्त नबुझेका मेकअप सामग्रीलाई अन्योलबीच पनि स्विकार्ने प्रयास नगर्नु राम्रो हुन्छ ।
यही कारणले मेकअपपछि पनि मनमा कौतूहल भइरहन सक्छ । गर्मी मौसममा ड्राई बेसमा मेकअप गर्नु उपयुक्त हुन्छ । आयली प्रोडक्ट प्रयोग कम गरेकै राम्रो हुन्छ । फेस क्लिन गर्ने विषयमा पनि तपाईं गम्भीर हुनुपर्छ । गम्भीर यो मानेमा कि तपाईंको छाला कस्तो प्रकारको छ ? आयली स्किन छ भने अस्ट्रिजन्ट टोनरवाला फेसवास प्रयोग गर्नुहोला । स्किन ड्राई छ भने क्लिन्जिङ मिल्कको प्रयोग उपयुक्त हुन्छ । स्किन बढी नै फोहर छ भने डिप क्लिन्जिङ गर्न अल्छी नमान्नुहोला ।
अनुहार र आँखावरिपरि हुने रौँले मेकअपमा समस्या निम्त्याउँछ । रौँ भएको अनुहारमा मेकअप गर्दा लतपतिने तथा राम्रो लुक्स नआउने हुन्छ । त्यसैले मेकअप गर्नुअघि आइब्रोज थ्रेडिङ गर्नुपर्छ । अनुहारमा रौँ पलाएको छ भने तीन दिनअगाडि नै फेस ब्लिच गर्नुपर्छ ।
मेकअप कस्तो गर्ने र कस्ता सामग्री प्रयोग गर्ने भन्नेमा निश्चित भएपछि पनि मेकअपअघि गर्नुपर्ने केही काम हुन्छ । फेस क्लिन नगरी मेकअप गर्नु राम्रो होइन । अनुहारमा ‘डेड स्किन’ छ भने पूर्ण रूपमा हटाउनुपर्छ । फोहर तथा डेड स्किनमै मेकअप गर्दा स्किन एलर्जीलगायत अन्य ब्याक्टेरियल समस्या निम्तिन सक्छ । यसले अनुहारको स्किन बिगार्न बल पुग्छ । अन्नपूर्ण पोष्ट