अखिल क्रान्तिकारीको शैक्षिक हड्ताल, दुई दिन विद्यालय बन्द

नवीन शिशिर
बागलुङ, ३१ साउन
विप्लव नेतृत्वका नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको शैक्षिक आमहडतालको कारण धवलागिरीका शैक्षिण संस्थाहरुमा आज विहानैदेखि पठन–पाठन अवरुद्ध भएको छ ।
अखिल क्रान्तिकारीले साउन ३१ र ३२ गते दुई दिन आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले आफ्नो आन्दोलनमा सहयोग पु¥याउन सरकारी तथा निजी विद्यालयहरुमा पत्र तथा फोन मार्फत आग्रह गरेको हुँदा पठन पाठन हुन सकेन ।
प्यावसन बागलुङका अध्यक्ष नवराज श्रेष्ठका अनुसार आम हडतालको कारण बागलुङका कुनै पनि निजी शैक्षिक संस्थाहरुमा सोमबार विहानी कक्षा संचालन हुन सकेनन । निश्चित क्षेत्र तोकेर बन्द आह्वन गरेको हुँदा थप समस्या सिर्जना हुन सक्ने आशंकामा विद्यालयहरु संचालन हुन सकेका छैनन ।
हड्तालको कारण सामुदायिक विद्यालय तथा उच्च माविहरुमा पनि पठन पाठन अवरुद्ध भएको विद्यामन्दिर उच्च माविका संयोजक डिल्लीराज गौतमले जानकारी दिनुभएको छ । बन्दको अलमलमा परेका विहानी कक्षामा अध्ययरत विद्यार्थीहरु विचबाटो बाटै फर्कन बाध्य भएका थिए ।
सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका मोर्डन इण्डियन स्कूललगायत दर्जनभन्दा बढी शैक्षिक संस्थालाई शिक्षा मन्त्रायले दिएको स्वीकृति खारेज, मेडिकल कलेजहरुमा भइरहेको दलालीकरणको अन्त्य, विदेशी सम्बन्धन लिएका कलेजहरुको पूँजी र प्रतिभाव पलायन जस्तो राष्ट्रघाती हर्कत रोक्न, सीटीईभीटीले प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीलाई बन्चित तथा चर्को शुल्क लिने कदमको अन्त्य, निजी कलेज तथा विद्यालयले गरेको चर्को शुल्क वृद्धिको खारेजी, शैक्षिक कन्सल्टेन्सीहरुले गरिरहेको भर्तीकेन्द्र र दलाली तत्काल बन्द गर्नुपर्ने मागसहित शैक्षिक आम हडतालको आह्वना गरेको हो ।
संगठनले आगामी फागुन १४ गतेको लागि घोषित स्ववियू निर्वाचनमा समानुपातिक, निर्वाचन प्रणाली, स्ववियु नियमावली परिवर्तन र अधिकारसम्पन्न स्ववियू निर्माणको लागि आन्दोलन चलाउने बताइएको छ ।