![0307201601550020141214passport-dept-to-fast-track-mrp-process-from-districts-600x0](https://khabarway.com/wp-content/uploads/2016/08/0307201601550020141214passport-dept-to-fast-track-mrp-process-from-districts-600x0.jpg)
खिम कार्की
बैदेशिक रोजगारीको कारणले बागलुङमा नागरिकता लिने भन्दा राहदानी लिने धेरै भएका छन् । पछिल्लो केही बर्षदेखि यो क्रम निरन्तर चलिरहेको हो । युवाहरु खाडी मुलुक सहित जापान र गैरकानूनी रुपमा अमेरिका समेत पुग्ने भएपछि राहदानी बनाउनेहरुको संँख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट आर्थिक बर्ष २०७२/०७३ मा राहदानी लिनेको संख्या १२ हजार २९ जना रहेका छन् भने सोही अवधिमा नागरिकता जम्मा ७ हजार ७ सय ६ जनाले मात्र लिएको कार्यालयका सूचना अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीले बताउनुभयो ।
जस मध्ये ४ हजार ३ सय १५ जनाले भने द्रुत सेवा मार्फत परराष्ट्र विभागबाट राहदानी लिएका छन्् । यो संख्या हेर्दा हरेक बर्ष बागलुङका हजारौं युवा बिदेश जाने गरेको देखिएछ । नागरिकता भन्दा हरेक दिन राहदानीकै लागि भ्याइ नभ्याइ भएको प्रमुख जिल्ला अधिकारी भागिरत पाण्डेयले बताउनुभयो ।
स्वदेशमा रोजगारीको अभाव भएपछि अधिकांसले राहदानी बनाएर तत्कालै विदेश जाने तयारी गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले प्रशासन कार्यालयको सेवा प्रवाहलाई आफु आए पछि थप व्यवस्थित गर्ने प्रयास गरिएको बताउनुभयो ।
अघिल्लो आर्थिक बर्षपनि नागरिकता ७ हजारकै हाराहारीमा भएपनि राहदानी भने १५ हजार जनाले लिएका थिए । जिल्ला प्रशासन कार्यालयले बागलुङ र इलाका सेवा केन्द्र बुर्तिवाङबाट पनि राहदानी र नागरिकता लिने व्यवस्था गरेको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा राहदानीबाटै ३ करोड ४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको हो । यस्तै प्रशासन कार्यालयमा आउने सार्वजनिक अपराधका मुद्दा मार्फत २६ लाख ३३ हजार १ सय २१ रुपैयाँ धरौटी संकलन भएको छ ।
उक्त रकम पनि फिर्ता हुनुपर्ने बाहेकको राजश्वमा जाने गर्छ । अघिल्लो आर्थिक बर्ष कार्यालयले ३ करोड ७६ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । यो बर्ष कार्यालयले अघिल्ला बर्षहरुमा रहेको ७० हजार ६ सय ६६ रुपैयाँ बेरुण पनि फछ्र्याैट गरेको छ । कार्यालयको चालु तर्फ १ करोड ६३ लाख ६६ हजार तथा पूजिगत तर्फ १ करोड ८ लाख ७५ हजार गरी २ करोड ७२ लाख ४१ हजार स्विकृत बजेट थियो ।