बागलुङ, २८ साउन
बागलुङ जिल्लामा गत साउन १० गते आएको बाढी पहिरोले १ सय ४० हेक्टर अर्थात २८ सय रोपनी खेत बगाएको छ ।
अविरल बर्षा पछि आएको बाढी र पहिरोका कारण सबै भन्दा बढी क्षति अधिकारीचौरमा भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।
अधिकारीचौरमा ४ सय रोपनी खेत बाढीले कटान गरेर बगरमा परिणत भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बिनोद हमालले बताउनुभयो । उक्त गाविसमा छालहाल्ने, दोगाडी र चामेद्धारका तीन गाउँका ६६ घर बगाएको थियो ।
घर बगाए पछि अहिले स्थानीय बासिन्दा ढोरपाटनमा रहेका गोठ र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । अधिकारीचौरका साथै निसी, देविस्थान र बोहरागाउँमा २ सय रोपनी खेत बगाएको छ भने रेश, ग्वालीचौर, भिमगिठे, बुङ्गादोभान लगायतका स्थान गरी जिल्लाभरमा १ सय ४० हेक्टर खेत बगाएको र केही स्थानमा पहिरोले पुरिएको छ ।
खेतियोग्य खेतबारी बाढी पहिरोले क्षणभरमा बगरमा परिणत गरे पछि स्थानीय कृषकहरु निराश बनेका छन् । ‘खेतबारी बगाएर कहाँ पु¥याएको छ, नाम निशाना केही छैन, अधिकारीचौर छालहाल्नेकी पवित्रा बुढाले भन्नुभयो– ‘गरिखाने खेत र बस्ने घर सबै बगाए पछि बर्तमान र भविष्य दुवैले सताउन थालेको छ ।’ उनीहरुले खेतीयोग्य जमिन बगाए पछि दैनिक गुजारा चलाउन समेत समस्या सिर्जना भएको भन्दै तत्काल यथोचित राहत, उपयुक्त जग्गा र पुर्नबासको व्यवस्था गर्न माग समेत गरेका छन् ।
स्थानीयको समस्या बिकराल देखिएकाले तत्काल राहत कार्यक्रम ल्याउनका लागि जिल्लाबाट क्षतिको सम्पूर्ण बिवरण मन्त्रालयमा पठाइ सकिएको वरिष्ठ कृषि विकास अधिकृत हमालले बताउनुभयो । जिल्लामा ठुलो मात्रामा खेति योग्य जमिन बगाए पनि खाद्य सुरक्षामा भने समस्या नआउने उहाँले बताउनुभयो ।
‘खेतबारीमा क्षति भएको छ, तर खाद्य सुरक्षामा प्रश्न आउदैन, वरिष्ठ विकास अधिकृत हमालले भन्नुभयो, ‘पशु लगायतलाई खुवाउने अन्नबालीमा कटौती भने हुन सक्छ । बागलुङमा ४६ हजार खेतीयोग्य जमिन रहेकोमा ३० हजार हेक्टरमा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
१ सय ४० हेक्टर खेत बगायो
सबै भन्दा बढी क्षति अधिकारीचौरमा