एउटै गाउँबाट डेढ करोडको आलु निर्यात

म्याग्दी, २६ साउन
मध्यपहाडी जिल्ला म्याग्दीको एउटै गाउँबाट गतवर्ष डेढ करोडको आलु निर्यात भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा उत्तरी म्याग्दीको राम्चे गाविसबाट मात्रै झण्डै १ करोड २५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको हो ।
अनुकुल वातावरण, उचित बजार मुल्य, अनुदान, हित कोषलगायतका कार्यक्रमहरुबाट आकर्षित भएका राम्चेवासीले अन्य खेतीबालीलाई छाडेर आलु खेतीतर्फ आकर्षित भएपछि हरेक वर्ष उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
आलु उत्पादनको पकेट क्षेत्र मानिने राम्चे र नागी गाउँबाट करिब ३ सय २० मेट्रिक टन आलु निर्यात भएको हिमाञ्चल उच्च माविका शिक्षक कृष्ण पुनले बताउनुभयो । उहाँका अनुसार यसवर्ष असिनापानीले आलु खेतीमा केही असर गरेपनि उत्पादन भने बढेको छ ।
गाउँमै प्रतिकेजी ४० रुपैयाँको दरले बिक्री हुने आलु घरायसी प्रयोग तथा भ्रमणमा आउनेले कोसेलीका रुपमा लैजाने गरेको शिक्षक पुनको भनाई छ । आलुको आकार ठूलो र स्वादिलो भएकाले पनि हरेक वर्ष व्यापारीहरू गाउँमै आलु खरिद गर्न आउने हुँदा कृषकहरु उत्साहित भएका छन् ।
राम्चेको नागीमा महिलाहरूले समूह नै बनाएर आलु खेतीको विस्तार सँगसँगै बजारीकरण गर्ने गरेका छन् । ईन्द्रणी आलु उत्पादक महिला कृषक समूहले उत्पादन गरेको आलुलाई बजारसम्म लैजाने तथा आवश्यक प्राविधिक सहयोग, तालिम तथा कृषि कार्यालयसँग सहकार्य गर्ने गरिएको उक्त समूहले जानकारी दिएको छ । व्यावसायिक आलुखेतीले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाएको महिला कृषक समूहका अध्यक्ष जसमाया पूर्जाले बताउनुभयो ।