खिमबहादुर कार्की
बागलुङ, २३ साउन
पुनरावेदन अदालत बार एकाई बागलुङको अध्यक्षमा लामो प्रयास पछि बाम गठबन्धको तर्फबाट केशव पराजुली सर्वसम्मत चयन हुनुभएको छ ।
प्रजातान्त्रिक कानुन व्यवसायी र प्रगतिशिल बामपन्थी कानुन व्यवसायीका बीचमा आलोपालो नेतृत्व गर्ने सहमति अनुसार यस बर्ष प्रगतिशिलबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी दुवै पक्षले नेतृत्व दाबी गरेपछि सर्वसम्मत नेतृत्व चयनमा समस्या भएको थियो ।
तर अन्तिम समयमा प्रगतिशिल कानुन व्यवसायी सघंले माओवादी निकट पराजुलीको नेतृत्व स्वीकार गर्न तयार भए पछि पराजुलीको नेतृत्वमा बारको सर्वसम्मत नेतृत्व चयन भएको पुनरावेदन अदालत बार एकाई बागलुङका निवर्तमान अध्यक्ष कृष्णप्रसाद न्युरेले जानकारी दिनुभयो ।
यसअघिको कार्यकालमा सचिवको जिम्मेवारी सम्हालेका पराजुलीले क्रान्तिकारी कानुन व्यवसायीका तर्फबाट बारको बागडोर सम्हाल्ने अवसर प्राप्त गर्नुभएको हो । नेतृत्वका लागि पूर्व अध्यक्ष राम शर्मा, निवर्तमान उपाध्यक्ष बद्रिप्रसाद शर्मा, सचिव केशव पराजुली र तिलक रिजालको उम्मेदवारी परेको थियो ।
बारको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा हरिप्रसाद गौतम, कोषाध्यक्षमा युक्तजगं राजभण्डारी र सहसचिवमा सरिता केसी चयन हुनुभएको छ । उपाध्यक्ष सुवेदी र कोषाध्यष राजभण्डारी एमाले निकट हुन् भने सचिव गौतम, सहसचिव केसी नेपाली कांग्रेस निकट हुनुहुन्छु ।
बारको सदस्यहरुमा भरत शर्मा, शेषकान्त रिजाल, राजाराम कंडेल, लक्ष्मी बास्कोटा, यामबहादुर चर्माकार, बिष्णु आचार्य, बद्रिप्रसाद शर्मा उपाध्याय, शालिकराम पौडेल चयन हुनुभएको निर्वाचन समितिका संयोजक रामप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार केन्द्रिय पार्षदहरुमा गणेशबहादुर कुवर, अखिलनाथ शर्मा, दिनानाथ शर्मा र बलराम शर्मालाई चयन गरिएको छ ।
बारको नेतृत्व चयनमा प्रजातान्त्रिक कानुन व्यवसायि र प्रगतिशिल कानुन व्यवसायिहरुले आलो पालो प्रणालीमा विगतदेखि नेतृत्व सहमतिमा चयन गर्ने अभ्यास गर्दै आएका छन् ।