एमालेको प्रस्तावः चार नगरपालिका चार गाउँपालिका (नक्सा सहित)

बागलुङ, २२ साउन
नेकपा एमाले बागलुङले स्थानीय निकायको पुनःसंरचना गर्दा बागलुङ जिल्लालाई ४ नगरपालिका तथा ४ गाउँपालिका रहने गरी जिल्लाको स्थानीय तह पुनःसंरचनाको प्रस्ताव गरेको छ ।
बागलुङ जिल्लाको स्थानीय तह पुनःसंरचनाका सम्बन्धमा गठन गरेको अध्ययन समितिले सो प्रस्ताव पेश गरेको हो । एमाले बैकल्पिक केन्द्रिय सदस्य गोविन्दबहादुर नेपाली संयोजकत्वमा हरिनारायण गौतम, टंक पौडेल, भिमबहादुर थापा र बाबुराज कार्की सदस्य रहेको समितिले स्थलगत सुझाव संकलन गरी प्रस्ताव तयार पारेको बताएको छ ।
स्थानीय तह विभाजन र तिनको केन्द्र तोक्दै समितिले मुल प्रस्ताव र एउटा बैकल्पिक प्रस्तावको खाका तयार पारेको संयोजक गोविन्द नेपालीले बताउनुभयो । मुल प्रस्तावमा बागलुङ बजार केन्द्र, गल्कोट केन्द्र, कुश्मिशेरा केन्द्र र बुर्तिबाङ केन्द्रलाई नगरपालिका बनाउने र अक्षेते–दोबिल्ला केन्द्र, बरेङ–वराहाकोट केन्द्र, खर्बाङ केन्द्र र देविस्थान केन्द्र रहने गरी गाउँपालिका बनाउन उपयुक्त हुने निष्कर्ष निकालेको छ
यस्तै स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको कार्य शर्त र कार्यविधिमा रहेको जनसंख्याको समान वितरण, भुगोलको निरन्तरता, स्रोतको समान वितरण, प्रशासनिक सुगमता, यातायात तथा पहुँचको आधार लगायतका बिषयलाई समेटेर निष्कर्ष निकालेको समितिले जनाएको छ । पहाडी भुभागमा गाउपालिका बनाउदा २५ हजार र नगरपालिका बनाउदा ३५ हजार जनसंख्या पुग्नुपर्ने मापदण्ड रहेको छ ।
bgl mapपहाडी जिल्ला सदरमुकाम नगरपालिका बनाउदा ४५ हजार पुग्नुपर्छ । यस्तै २ नगरपालिका र ७ गाउँपालिका रहने गरी वैकल्पिक प्रस्ताव प्रस्तुत गरेको छ । बागलुङ बजार केन्द्र र बुर्तिबाङ केन्द्रलाई नगरपालिका एवं अक्षते–दोबिल्ला केन्द्र, हरिचौर केन्द्र, हटिया केन्द्र, कुश्मिसेरा केन्द्र, व्यार्थला केन्द्र, खर्बाङ केन्द्र, देविस्थान केन्द्र रहनेगरी गाउँपालिका बनाउन सकिने बैकल्पिक प्रस्ताव गरेको छ । एक कार्यक्रमको आयोजना गरी समितिले वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी र जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मालाई प्रस्ताव प्रदान गरेको छ ।