बैदेशिक रोजगारीले सम्बन्ध विच्छेदका घटना बढ्दो

बागलुङ, २० साउन/ नेपालले बैदेशिक रोजगारीबाट रेमिट्यान्स प्रसस्त भित्राएको छ । राष्ट्रिय आयको ठूलो हिस्सानै रेमिट्यान्स भएको सरकारले स्विकार पनि गरेको छ । तर बैदेशिक रोजगारीले सामाजिक सम्बन्धहरुमा भने गम्भिर असर पर्दै गएको छ ।

जिल्ला अदालत बागलुङमा स्रेस्तेदार रामबहादुर थापा क्षेत्री भन्छन्, ‘बैदेशिक रोजगारीमा जाने युवाको घर परिवार संहाल्न निकै समस्या परेको देखेको छु ।’ बिदेशमा भएकै समयमा माना चामल, सम्बन्ध विच्छेद जस्ता मुद्दाले युवाको सम्पत्ति समेत क्षति भएको छ । नीति नियम बमोजिमका काम अदालतले गरेपनि सामाजिक सम्बन्धमा आएको विचलनलाइ भने यस्ता रोजगारीले थप टेवा पुगेको पाइएको उनको मत छ । युवा पुस्तामा अधिकारको खोजी गर्ने र दायित्व विर्सने प्रवृत्ति बढेको हो ।

आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला अदालतमा परेका मुद्दाका प्रकृतिहरु हेर्दा सम्बन्ध विच्छेद बढेको पाइएको हो । ती सम्बन्ध विच्छेद गर्ने मध्ये अधिकांस बैदेशिक रोजगारीमा रहेका युवाकै छन् । जिल्ला अदालतमा परेका ६ सय ९४ मुद्दा मध्ये १ सय ३५ वटा सम्बन्ध विच्छेदकै घटना रहेका छन् । जुन कुल मुद्दाको २० प्रतिशत हो । यो बर्ष जिल्ला प्रशासन कार्यालयले हेर्ने सार्वजनिक अपराधका मुद्दा पनि अदालतले हेरेको थियो । गत आवमा त्यस्ता प्रकृतिका १ सय ९९ मुद्दा परेका थिए । जुन चालु आर्थिक बर्ष जिल्ला प्रशासनमै जाने निश्चित भैसकेको छ । ती बाहेक कर्तव्य ज्यानका १५, जवरजस्ती करणीका २०, ज्यान मार्ने उद्योगका १२ र लेनदेन मुद्दाका ६९ वटा मुद्दा परेको देखिएको हो ।

अघिल्लो बर्षहरुको तुलनामा यौनजन्य र ज्यान सम्बन्धी मुद्दा घट्दो र सम्बन्ध विच्छेद बढ्दो भएको पाइएको हो । सर्वोच्च अदालतले हरेक जिल्ला तथा पुनरावेदन अदालतलाइ कम्तिमा ७० प्रशित मुद्दा फछ्र्यौट गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन भन्दा बढी जिल्ला अदालत बागलुङले ७९ दशमलब ५३ प्रशिशत मुद्दा फछ्र्यौट गरेको थापाले बताए ।

२०६८ को जनगणना अनुसार २९ हजार १ सय ३३ घरका झण्डै ४३ हजार युवा बिदेशमा छन् । पुरुष युवा ३८ हजार १ सय ८० र महिला युवा ४ हजार ४ सय ४३ जना बैदेशिक रोजगारमा गएको भेटिएको हो । बैदेशिक रोजगारीकै कारण घरेलु हिंसा तथा मानाचामल माग गरेर प्रहरी तथा महिला विकास कार्यालयमा पनि विभिन्न उजुरी आउने गरेका छन् । सँमाजिक संजाल मार्फत पनि अवैध यौन सम्बन्ध, अवैध बालबालिकाको जन्म र सम्बन्ध विच्छेदमा पुगेको पाइएको हो । गत आर्थिक बर्षभरी भएका १६ मुद्दामा १८ जना थुनुवा रहेका छन् ।