काठमाडौं, ६ साउन/ एक्सन स्टार नायक विराज भट्टले अब नेपाली फिल्मलाई नै निरन्तरता दिने बताएका छन् । करिब पाँच वर्षको ग्याप पश्चात नेपाली दर्शकमाझ भेट गर्न आएका उनले भोजपुरी फिल्म पनि समय मिलाएर खेल्ने बताए ।
उनले भने, ‘वर्षको यति वटा र उति वटा फिल्म खेल्छु भनेर त भन्दिन तर जे होस् राम्रो नेपाली फिल्म म आगामी दिनमा खेल्नेछु । जसरी विगतमा म भोजपुरी मै व्यस्त रहे तर अब त्यसो हुन भने दिन्न किनकि मलाई माया गर्ने नेपाली दर्शकले मलाई धेरै मिस गरेको पाए ।’
विराज भट्टले पाँच वर्ष पछि खेलेको नेपाली फिल्म ‘जय पर्शुराम’ यहि साउन २८ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । त्यसो त उनले यो फिल्ममा निकै मिहेनत लगाएको बताएका छन् । एक्सन प्रेमी दर्शकका निमित्त हेर्नै पर्ने फिल्म बनेको विराजको भनाई छ । उनले जता काम गरेपनि फिल्म नै आफ्नो कर्म भएको समेत बताएका छन् । नेपाली फिल्ममा निरन्तरता दिने उनको योजनाले फेरि पनि नेपाली सिेन वृत्तमा केही आशा गर्ने ठाउँ भने अवश्य नै खडा गरेको छ ।
उनलाई नेपाली फिल्ममा फर्काउनुमा भने निर्माता तथा निर्देशक रोज राणाको ठूलो हात छ । पाँच वर्षको अवधिमा धेरै कलाकार भित्रिए पनि विराजको आवश्यकता महसुस भने दर्शकले गरि नै रहे । त्यसो त विराजलाई नै लिएर फिल्म बनाउने सोच भएका निर्माताको पनि कुनै कमि छैन । तर विराजले अब स्क्रिप्ट अनुसार आफूलाई सुहाउने फिल्म मात्र गर्ने बताएका छन् ।
कुनै समय एकलौटी राज जमाएका विराज एक्सन हिरोमा पहिलो रोजाइमा पर्ने गरेका छन् ।