राष्ट्रिय महिला भलिबल टिमको घोषणा, बागलुङकी मिना समावेश

बागलुङ, २ जेठ । अर्को साताबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाल मलिबल संघले शनिबार टोलीको अन्तिम नाम सार्वजनिक गरेको हो । बन्द प्रशिक्षणमा रहेका १६ जना खेलाडीबाट संघले शनिबार निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

राष्ट्रिय टोलीमा पहिलो पटक बागलुङकी मिना सुनारले स्थान बनाउनुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ की मिनाले उमेर समुहमा नेपालको प्रतिनिधित्व गरिसकेपनि राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाउनुभएको हो ।

टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा मिडलब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद र अलिशा मानन्धर रहनुभएको छ ।

त्यस्तै स्पाइकरमा कप्तान निरुता, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुवँर, मिना सुनार तथा सेटरमा प्रगति नाथ र जशना महतो टोलीमा पर्नुभएको छ । बन्द प्रशिक्षणमा रहनुभएका लक्ष्मी चन्द र आरती सुवेदी अन्तिम टोलीमा पर्न सक्नुभएन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनुभएको छ ।

आयोजक सेन्ट्रल एसियाका नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स र कजाकिस्तानगरि कुल ८ राष्ट्र रहेका छन् ।

च्याम्पियनसिप जेठ ८ गतेदेखि १५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । यो प्रतियोगिता एफआइभिबी वल्ड ¥याङ्किङ भएकोले सहभागी सबै राष्ट्रको लागि निकै महत्वपूर्ण रहनेछ ।