
बागलुङ, ४ जेठ । बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता हुने भएको छ ।
बागलुङको सम्पदा अंकित स्पोर्टसको आयोजनामा जेठ ८ र ९ गते अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुने भएको हो । आयोजक सम्पदा अंकित स्पोर्टस् क्लबले शनिबार पत्रकार सम्मेलन प्रतियोगिताको बारेमा जानकारी दियो ।
सम्पदा अंकित स्पोर्टस्का संचालक सौगात खड्काले विद्यालयस्तरमा रहेका प्रतिभावान खेलाडीहरुलाई खेल एक्सपोजर प्रदान गर्नका साथै विद्यार्थीहरुलाई फुटसल प्रति आकर्षित गर्न र भविष्यमा देशकै प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले कक्षा ६ देखि १० सम्म अध्ययतरत विद्यार्थीहरुलाई समावेश गर्ने गरी प्रतियोगिताको अयोजना गरेको जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ८ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खड्काले बताउनुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई आकर्षक ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।
१६ वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता संचालनको लागि १ लाख २५ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरेको संचालक खड्काले बताउनुभयो ।







