
बागलुङ, २९ चैत । गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका जोय स्टोर एक्स गहते युवा क्लबले जितेको छ । जोय स्टोर एक्स गहतेले पहिलो सहभागितामै प्रतियोगिताको उपाधि जित्न सफल भयो ।
गहतेलाई उपाधि जिताउन खेलको ८२ औं मिनेटमा मनिष ठकुरीले गरेको गोल निर्णय बन्यो । शनिबार सम्पन्न फाइनल खेलमा गहतेको बागलुङ सुधार केन्द्रलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । आक्रमक खेल प्रदर्शन गर्नुभएका राज भूसालले मैदानको मध्यभागबाट एक्लै अगाडी बढाएर डि–बक्समा उपलब्ध गराएको क्रस पासलाई ठकुरीले आकर्षक गोल गर्नुभएको थियो ।
बागलुङ सुधार केन्द्र लगातार दोस्रो पटक उपविजेतामा सिमित भयो । सुधार केन्द्र तेस्रो संस्करणको फाइनल खेलमा गुठी युनाइटेड स्तब्ध हुँदै उपविजेता बनेको थियो ।
विजेता बनेको गहतेले २ लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बागलुङ सुधार केन्द्रले १ लाखसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनमा पुगेका गण्डकी प्रदेश प्रहरी र गुठी युनाइटेडले समान १२÷१२ हजार रुपियाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको पुरस्कार बागलुङ सुधार केन्द्रका बरदान निउरे प्राप्त गर्नुभएको छ । उहाँले नगद १० हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो ।
यस्तै गहते युवा क्लबका विविध थापा उत्कृष्ट डिफेन्डर, गहतेकै आकाश थापा उत्कृष्ट मिडफिल्डर, सन्तोष महत उत्कृष्ट गोलरक्षक घोषित हुँदै नगद ५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयोभने सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाली सेनाको कालीजङ्ग गण घोडाबाँधेका दिपेन दियालीले प्राप्त गर्नुभयो । उहाँले प्रतियोगितामा चार गोल गर्नुभएको थियो । दियालीले नगद ५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो ।
आदर्श विद्यामन्दिर (एभिए) अनुशासित टिम घोषित भएको छ । आदर्शले १० हजार रुपियाँ प्राप्त गरेको छ ।
विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ जेसीज वर्ष २०२६ का अध्यक्ष अन्जीला श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।








