सडक निर्माण नगर्ने ठेकदारलाई झुण्डाउने होइन, कानुन फेर्नुपर्छः काँग्रेस सभापति थापा

बागलुङ, १६ फागुन । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई झुन्ड्याउने जस्ता उग्र अभिव्यक्ति समाधान नभएको बताउनुभएको छ । उहाँले समस्या समाधानका लागि नीतिगत र कानुनी सुधार आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ ले शुक्रबार आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै थापाले समयमै सडक निर्माण गर्न ४१ वटा कानुन संशोधन गर्नुपर्ने बताउनुभयो । विकास निर्माणको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै थापाले समयमै सडक नबन्नुमा सबै पक्ष जिम्मेवार रहेको बताउनुभयो । रास्वपाका नेता बालेन्द्र शाहले ठेकेदारलाई समयमै निर्माण गर्ने ठेकदारलाई बाँध्नुपर्ने धारणा राखेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले कानुन सुधारबिना समस्या समाधान नहुने धारणा राख्नुभयो ।

सभापति थापाले कानुन संशोधनका लागि सात वर्षदेखि त्यसको गृहकार्य गरिरहेको बताउनुभयो । “पहिले कानुन ठिकै सोचेर बनाइए होला,” उहाँले भन्नुभयो,“अहिले त्यो कानुनले काम लागेन । सात वर्षदेखि कुन–कुन कानुन बद्ल्ने, कसरी बद्ल्ने भनेर एउटा एउटा कुराको गृहकार्य गरेर बसेको छु ।” “कसैलाई ठोक्नुपर्छ, झुण्ड्याउनुपर्छ भन्न सजिलो छ, त्यसमा ताली पनि बज्छ,” उहाँले भन्नुभयो, “तर त्यसले देशलाई अगाडि बढाउँदैन ।”

संसदबाटै संविधान संशोधन गर्नुपर्ने भन्दै थापाले सबै दल र तहबीचको सहकार्य आवश्यक पर्ने बताउनुभयो । उहाँले मञ्च पाएपछि म नयाँ हो, म मात्रै असल अरु पुराना जति सवै डाकु र चोर हुन भन्ने संज्ञा दिने प्रवृत्तिमाथि प्रश्न उठाउनुभयो । “२०६४ सालमा माओवादीले पनि हामी नयाँ हौँ, नेपाल नयाँ बनाउछौं । पुरानो सवै गएभनेर १ वर्षपछि उ पनि पुरानो भएन ?” उहाँले भन्नुभयो,“के हो यो नयाँ पुरानाको बहस ? सवै नयाँ कहिलै पुरानो हुँदैन ? पुरानो सवै खराब हुने भए यहाँको मठ मन्दिर खराव हुनुपर्यो । धर्म, शास्त्र खराब हुनुपर्यो । देश खराव हुनुपर्यो ।”

उहाँका अनुसार पुरानोका असल पक्ष जोगाउने र खराब पक्ष त्याग्नुपर्ने बताउँदै नेपाली कांग्रेसले विगतदेखि यही सिद्धान्त अपनाउँदै आएको दाबी गर्नुभयो । “हामी २००७ र २०१५ सालको जस्तो काँग्रेस बन्न चाहन्छौं,” उहाँले भन्नुभयो,“३० वर्षे पञ्चायतमा जेल बस्न तयार भयौँ, तर निरंकुशतासँग सम्झौता गरेनौ ं। त्यस इतिहासप्रति हामीलाई गौरव छ ।” साथै उहाँले युवापुस्ताको अपेक्षालाई सम्बोधन गर्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो,“१८, २० वर्षको नवजवानले मैले पढे दाई अब मलाई काम दिने सरकार चाहिन्छ । काम तिमले दिन पर्दैन काम गर्ने बातावरण देउ भन्ने त्यो युवाको अबसर दिनसक्ने त्यो क्षमता भएको पार्टी बनाउन चाहन्छौं ।”

सभापति थापाले २०८२ को निर्वाचन असामान्य परिस्थितिमा हुन लागेको बताउँदै यसअघि देशले ठुलो जनधनको क्षति व्यहोरेको स्मरण गर्नुभयो । उहाँले निर्वाचनअघि दर्जनौँ युवाको ज्यान गएको, आमाहरूको काख रित्तिएको तथा सिंहदरबारसहित सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गर्नुभयो । “नेपालले कहिल्यै नबेहोरेको जनधनको क्षति व्यहोरेर चुनावमा जाँदैछौं,” उहाँले भन्नुभयो, “यो चुनाव जुन उद्देश्यका लागि हुँदैछ, त्यो पूरा भएन भने बालबालिका गुमाएका आमा र हामी सवैले हार्नेछौं ।”

२०७४ पछिको ६ वर्ष देशका लागि खेर गएको स्वीकार गर्दै पछिल्लो वर्षहरुमा सरकार गठन र टिकाउने राजनीतिमै दलहरू अल्झिएको थापाको भनाई छ । “काँग्रेससहित सबै दल त्यसका जिम्मेवार छौं,” उहाँले भन्नुभयो, “हामी सबैलाई सरकार चाहियो, तर आज जिम्मेवारी लिन कोही तयार छैन ।” उहाँले सरकार निर्माण र जोगाउने खेलमै राजनीतिक दलहरू अल्झिएको उल्लेख गर्दै काँग्रेससहित सबै दल त्यसका लागि जिम्मेवार रहेको बताउनुभयो । “अघिल्लो चुनावमा उहाँहरुलाई सरकारमा जान र प्रधानमन्त्री हुन नयाँ दल र माओवादीलाई पनि म्यानडेट थिएन । तर नयाँ दल सरकारमा जान, मन्त्री हुन र माओवादी प्रधानमन्त्री र मन्त्री हुन खोज्नुभयो,” यहाँदृ भन्नुभयो,“हामी सवैलाई सरकार चाहिए । तर, आज हामी सवै जिम्मेवार लिन कोही तयार छैनौं ।”

आगामी पाँच वर्षलाई सुशासन र प्रगतिको वर्ष बनाउनु आवश्यक रहेको उल्लेख गर्दै संकल्प मात्र पर्याप्त नहुने थापाको भनाई छ । उहाँले नेपाली काँग्रेसले पाँच वर्षको प्रत्येक दिन परिणाममुखी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभापति थापाले नयाँ सरकारले २०४६ सालपछि बनेका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तथा विभिन्न काण्डको छानबिन गर्ने बताउनुभयो । “२०६४ सालपछि बनेका सवै सरकारका प्रधानमन्त्री र मन्त्रीको छानविन गछौं,” थापाले भन्नुभयो, “छानबिन काँग्रेसबाटै सुरु हुन्छ, शेरबहादुर देउवा र गगन थापासहित सबैको छानबिन हुन्छ ।” भविष्यमा कुनै काण्ड नदोहोरिने गरी संस्था र कानुनलाई बलियो बनाउने तथा राजनीतिलाई सफा र प्रदुर्षण मुक्त बनाउने उहाँको भनाइ थियो ।

थापाले युवाहरुलाई सामाजिक सञ्जालमा फैलाइने घृणा र उत्तेजनाबाट सचेत रहन आग्रह गर्नुभयो । संसारभर सामाजिक सञ्जालमा घृणा, उत्तेजना र नकारात्मकता फैलाउने सामग्री बढी चल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै थापाले त्यस्तो राजनीतिमा आफूहरू नलाग्ने स्पष्ट पार्नुभयो । “हामी समाजलाई उत्तेजित बनाउने राजनीति गर्दैनौं, हामी सिर्जनाको राजनीति गर्छौं,” उहाँले भन्नुभयो, “हामी प्रेमको भाषा बोल्छौं र सबैलाई मिलाउन चाहन्छौं । यो गाह्रो छ । यसको निम्ति संवाद चाहिन्छ । त्यसैले हातको टेलिफोन मात्र होइन, गोडा पनि चलाउनुस र घर घरमा पुग्नुहोस् । भोट माग्नुहोस् ।”