
बागलुङ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका बागलुङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिराबहादुर केसीले आगामी पाँच वर्षका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
उम्मेदवार केसीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो प्रतिबद्धतापत्र गर्नुभएको हो । प्रतिबद्धतापत्रमा उहाँले पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य तथा रोजगारी, कृषि आधुनिकीकरण, उद्योग–व्यवसाय, पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, सहकारी र सुशासनलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बागलुङ नगरमा सिटी हल, जिल्लामा एक हजार जना अट्ने सभाहल र खेल रंगशाला निर्माण गर्ने योजना प्रस्तुत गरिएको छ । प्रत्येक गाउँपालिका र नगरपालिकामा पाँच सय जना अट्ने सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
जनताले विश्वास गर्ने आधारसहित आफू निर्वाचनमा आएको बताउँदै केसीले केन्द्रीय नीति तथा घोषणापत्रसँगै जिल्ला तहका प्राथमिकताहरू समेटिएको छुट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धतापत्रमा शिक्षा तथा स्वास्थ्यतर्फ धवलागिरि बहुमुखी क्याम्पसलाई प्राविधिक विषयसहित विश्वविद्यालयमा रूपान्तरण गर्ने र धौलागिरी प्रादेशिक अस्पताल लाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा प्रत्येक गाउँपालिकामा शिशु स्याहार केन्द्र स्थापना गर्ने विषय पनि समेटिएको छ ।
कृषि क्षेत्रलाई व्यवसायिक र निर्यातमुखी बनाउने लक्ष्यसहित चक्लाबन्दी खेती प्रणाली लागू गर्ने, बाँदर नियन्त्रणका लागि विशेष नीति ल्याउने, कृषकलाई न्यूनतम मूल्यको ग्यारेन्टी दिलाउने तथा कोल्ड स्टोर निर्माण गरी उत्पादन राज्यले खरिद गर्ने व्यवस्था मिलाउने योजना सार्वजनिक गरिएको छ । मध्यपहाडी लोकमार्ग आसपास उद्योग स्थापना, लगानीमैत्री वातावरण सिर्जना र पर्यटन प्रवद्र्धनमार्फत रोजगारी वृद्धि गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
देश बनाउन श्रम शक्ति देशमै परिचालित हुनुपर्ने बताउँदै केसीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, नागरिकको जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकता दिने तथा श्रम शक्तिलाई विदेश पठाउनेभन्दा स्वदेशमै परिचालन गर्ने नीति अवलम्बन गर्ने बताउनुभयो ।
सहकारी पीडितको बचत फिर्ताका लागि ग्यारेन्टी कोष स्थापना, दोषीलाई कारबाही, स्थानीय तहको सेवा प्रणाली पारदर्शी बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र आर्थिक अनियमितता नियन्त्रणका लागि प्रभावकारी अनुगमन प्रणाली निर्माण गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
उम्मेदवार केसीले कालीगण्डकी करिडोरलाई बागलुङ बजार हुँदै म्याग्दी जोड्ने प्रस्ताव राख्दै बागलुङ बजारलाई प्राचीन सभ्यता र कलाको झल्को दिने आधुनिक, प्रविधिमैत्री सहरका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभएको छ । एमालेले यसपटक औपचारिक सभासमारोहमार्फतभन्दा घरदैलो अभियानलाई प्राथमिकता दिने रणनीति लिएको उम्मेदवार केसीको भनाई छ ।
उहाँले निर्वाचनमा अनुभवी नेता र पुरानो दल रोज्नुपर्ने धारणा राख्नुभयो । “कपडा र जुत्ता नयाँ लगाए पनि नेतृत्व भने पुरानो र अनुभवी चाहिन्छ,” उहाँले भन्नुभयो ।








