रेश नुनथला माविको ७० औं वार्षिकोत्सव

सुजन रेग्मी
बागलुङ, १८ माघ । बागलुङको काठेखोला गाउँपालिका–७, रेशमा रहेको रेश नुनथला माध्यमिक विद्यालयले ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।

वार्षिकोत्सवको मुलसमारोह उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष थापाले शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहकार्यले असल नागरिक उत्पादन सम्भव हुने बताउनुभयो । विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक तथा ज्ञानमूलक शिक्षामार्फत नैतिकवान बनाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । साथै, अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई विदेश पठाउने उद्देश्यले मात्र होइन, राष्ट्रसेवक बनाउने लक्ष्यका साथ शिक्षा दिन आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले रेश नुनथला माध्यमिक विद्यालयले विभिन्न क्षेत्रमार्फत राष्ट्रलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न क्षेत्रमा स्थापित भएको उल्लेख गर्दै उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछाने, गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्की, इन्द्रावती अक्षयकोषका संरक्षक जब्बरबहादुर लामिछाने, विद्यालयका सल्लाहकार दिलबहादुर कार्की, पूर्व विव्यस अध्यक्ष चित्रबहादुर कार्की, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारी तथा कक्षा १० का विद्यार्थी टार्जन गुरुङले शैक्षिक विकासका लागि सबैको हातेमालो आवश्यक रहेको र ग्रामीण विद्यालयमा भौतिक पूर्वाधारको आवश्यकता रहेको औंल्याउनुभयो । विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको पूर्वाधार विकास अझै आवश्यक रहेको बताउनुभयो ।  उहाँले विभिन्न समयमा अक्षकोष स्थापना गरिएको जानकारी पनि दिनुभयो ।

वि.सं. २०१३ सालमा स्थापना भएको यस विद्यालयमा हाल १०९ छात्रा र ११७ छात्र गरी कुल २२६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २३ जना शिक्षक रहनुभएको प्रधानाध्यापक थापाले बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार तथा सिकाइ प्रक्रियामा निरन्तर सुधार गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दीक्षा कुँवर, प्रमोद थापा, करण किसान, भगवान जोशी, लप्सन थापा, पार्वती कुँवर, एन्जिना थापा, दिवस थापा, काजल थापा, अर्जुन किसान, ममता थापा, विप्लव जिसी, पुनम कार्की, चुणामणि थापा र आयुसा गौतमलाई सम्मान गरिएको थियो । विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षकोषमार्फत विद्यार्थी, शिक्षक तथा अभिभावकलाई पनि सम्मान गरिएको थियो भने विभिन्न कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र कार्कीको अध्यक्षता, शिक्षक हरि कुँवरको स्वागत मन्तव्य र शिक्षक दिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।