चिल्ड्रेन लाईफ कपः उपाधिको लागि अमर र आदर्श भिड्ने

बागलुङ, १२ माघ । बागलुङमा जारी चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि अमर आदर्श मावि र आदर्श विद्यामन्दिर मावि प्रतिस्पर्धा गर्ने भएका छन् ।

आईतबार भएको सेमिफाइनल खेलमा अमर आदर्शले न्यू ओयसिस एकेडेमी र आदर्शले आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा अमरले न्यु ओयसिस एकेडेमीलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ३२ औं मिनेटमा प्रदिप परियारको गोलबाट अग्रता लिएको अमर आदर्शको लागि खेलको ६८ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए ।

यस्तै आइतबारै भएको दोस्रो सेमीफाइनल खेलमा ट्राइब्रेकरमा भाग्यमानी सावित हुँदै आदर्श उपाधि नजिक पुगेको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आदर्शको लागि कप्तान सुझाव बानियाँ, एन्जल घर्ति, अमन थापा र साजन विकले गोल गरेभने चिल्ड्रेन लाईफको लागि रिदिस क्षेत्री, सुलभ रोका र सक्षम श्रेष्ठले गोल गरेका थिए ।

चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा संचालित प्रतियोगिताको फाइनल खेल (आज) सोमबार दिउँसो १ बजे हुने क्लबका उपाध्यक्ष जीवन रोकाले बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५५ हजार ५ सय ५५ रुपैयाँ र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टिमले नगद १० हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।