
बागलुङ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ–२ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चार शीर्ष दलसहित १२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बागलुङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली काँग्रेसबाट टेकराज पौडेल, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्माले उम्मेदवारी दिनुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, नेकपा माओवादीबाट लोकेन्द्र घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदम कुँवर, नेपाल मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापा, जनता समाजवादी पार्टीबाट पूर्णबहादुर घर्ती, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढाले उम्मेदवारी दिनुभएको छ ।
उक्त क्षेत्रमा २०७९ मा नेपाली काँग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र गठबन्धनबाट देवेन्द्र पौडेल निर्वाचित हुनुभएको थियो । यस पटक पौडेलले नवलपरासी–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । बागलुङको १ र २ नम्बर क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् । क्षेत्र १ मा जनमोर्चा र क्षेत्र २ मा नेपाली कम्युनिष्ट पार्टीले गठबन्धनबाट उम्मेदवारी दर्ता गराएको छ ।
राजनीतिक दलहरुले नारा जुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । क्षेत्र नम्बर २ का उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।








