एमालेले टुंगायो बागलुङका दुई उम्मेदवार

बागलुङ, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले बागलुङका दुवै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ ।

एमालेको शनिबार सम्पन्न सचिवालय बैठकले बागलुङ क्षेत्र नं. १ मा हिरा बहादुर केसी र क्षेत्र नं. २ मा मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको हो । केसी जिल्ला अध्यक्ष हुनुहुन्छभने चालिसे केन्द्रीय सदस्य हुनुहुन्छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीले क्षेत्र नं. १ मा केसी सहित केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उम्मेदवारका लागि सिफारिस गरेको थियो ।

बागलुङ क्षेत्र नं. १ का उमेदवार केसी २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभा अन्तरगत बागलुङ क्षेत्र नं. १ (क) मा उमेदवार बन्नु भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार हरि बहादुर खड्का र प्रदेशसभा निर्वाचनम नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापासंग केसी पराजित हुनु भएको थियो ।

यस्तै क्षेत्र नम्बर २ मा क्षेत्रीय समन्वय कमिटीले चालिसेको मात्र नाम सिफारिस गरेको थियो । केन्द्रीय सचिवालय बैठकले समन्वय कमिटीको निर्णयलाई निरन्तरता दिँदै चालिसेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

क्षेत्र नं. २ का उमेदवार चालिसे २०७९ को संसदीय निर्वाचनमा गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग प्रतिस्पर्धा गरी पराजित हुनुभएको थियो ।