बागलुङ महोत्सवः पुरुष भलिबलको उपाधि होटल समिटलाई

बागलुङ, २१ पुस । बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ ।

सोमबार बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिकालाई १–३ को सेटमा पराजित गर्दै होटल समिट च्याम्पियन बनेको हो ।

होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले जित्दै विजयी भयो ।

उपाधि जितेको होटल समिटले ट्रफीसहित नगद २ लाख १ हजार ५ सय रुपियाँ प्राप्त गर्योभने उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय रुपियाँ प्राप्त गरेको छ ।

यस्तै सोमबार नै भएको तेस्रो स्थानको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२७ ले गुमाएको मेरो डेण्टल होमले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान प्राप्त गर्यो । मेरो डेण्टल होमले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१७ ले जित्यो ।

तेस्रो स्थान प्राप्त गरेको मेरो डेण्टल होमले ट्रफीसहित ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।

महोत्सवको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा विभिन्न १४ समुहले भाग लिएकोमा जैमिनी नगरपालिका र मालिका युथ क्लब अन्तिम समयमा खेल मैदानमा उपस्थीत भएनन् ।

गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित पालिका र जिल्ला बाहिर गण्डकी प्रदेशका २ जना खेलाडी टिममा समावेश गर्न पाईने नियम राखिएको थियो । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी एउटै पालिकाको हुनुपर्ने र दुई जना मात्रै सम्बन्धित पालिका रहेको भन्दा बाहिरी जिल्ला गण्डकी प्रदेश भित्रको हुनुपर्ने आयोजकले जनाएको थियो । प्रतियोगितमा होटल समिटले गलकोट नगरपालिकाका खेलाडीका साथै गण्डकी प्रदेशका कप्तान तथा पूर्वराष्ट्रिय खेलाडी सन्जुविक्रम शाह र गण्डकी प्रदेशका सेटर विवस आले मगरलाई समावेश गरेको थियोभने गलकोट नगरपालिकाको गण्डकी प्रदेशका खेलाडी विश्वास अधिकारी र नेपाल पुलिस क्लबका बलराम गुरुङलाई समावेश गरेको थियो ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैटोफोर प्रतियोगितालगायत विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती आयोजना गरिएको छ ।

सञ्जु सर्वोत्कृष्ट
होटल समिट धौलागिरीका आउटसाइट हिटर सञ्जु विक्रम शाह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । सर्वोत्कृष्ट घोषित शाहले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

उपाधि विजेता होटल समिटका खेलाडीले विधागतमा पनि वर्चस्व जमाए । होटल समिटका विवश आले उत्कृष्ट सेटर, लव्सन सिन्जाली उकृष्ट ब्लकर, राजन परियार उत्कृष्ट स्पाइकर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । यस्तै मेरो डेन्टल होमका कुन्जन शाही उत्कृष्ट लिबेरो, गलकोट नगरपालिकाका सुर्य विक उत्कृष्ट सर्भर र विप्सन शाही उदयमान खेलाडी घोषित हुनुभयो । उत्कृष्ट घोषित सवै खेलाडीले ट्रफीसहित समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।